Prakash Adhikari June 29, 2026

काठमाडौँ, १५ आषाढ । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने बताएको छ ।

महाशाखाले आज साँझ विशेष मौसम बुलेटिन जारी गर्दै मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा एकदुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

देशका पहाडी तथा तराई क्षेत्रका धेरै र हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

महाशाखाका अनुसार बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह क्रमशः बढ्ने भएकाले मनसुन देशका बाँकी क्षेत्रमा पनि फैलिने सम्भावना छ ।

सम्भावित वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्र्यान बहावको जोखिम बढ्न सक्ने, सहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने, ठूलासाना नदीखोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपास निर्माण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ ।

पूर्वतयारी र सतर्कता अपनाउन आग्रह

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यही असार १६ र १७ गते देशका विभिन्न स्थानमा भारी वर्षा तथा एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाउँदै आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्राधिकरणले आज सूचना जारी गर्दै अकस्मात बाढी आउनसक्ने खोला तथा खहरेको बाटो हुँदै यात्रा गर्नेलाई सतर्कता अपनाउन आग्रह गरेको हो । यस्तै पहिरोको जोखिममा रहेका स्थान तथा खोला÷नदी किनाराका बस्तीका बासिन्दालाई सतर्क रहन प्राधिकरणले अनुरोध गरेको छ । दुई दिन मधेस तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षा तथा एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।

पहाडी र तराई भू–भागका धेरै स्थानमा तथा हिमाली भूभागका केही स्थानमा समेत मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । मनसुनी गतिविधि बढेका बेला अकस्मात बाढी, पहिरो, कटान, गेग्रान बहाव, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिमसमेत हुने जनाउँदै प्राधिकरणले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न आग्रह गरेको हो । प्राधिकरणले डुबान हुने बस्तीका बासिन्दालाई आवश्यक पर्नासाथ उँचो र सुरक्षित स्थानमा जान तथा तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकायलाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन अनुरोध गरेको छ ।

यस्तै जोखिमयुक्त राजमार्ग र सडकमा डोजर, एक्साभेटर, लोडरलगायत साधन तयारी अवस्थामा राख्न तथा पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थालाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही काम गर्न प्राधिकरणको आग्रह छ । वर्षा र बाढीबारे जानकारी लिन ११५५, विपद्मा मद्दत माग्न ११४९, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बल, नेपालको १११४ हटलाइन नम्बर मोबाइलमा ‘सेभ’ गरी आवश्यक परेको अवस्थामा तत्काल फोन गर्न अनुरोध गरिएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो ।

Share Now