Prakash Adhikari June 30, 2026
  • सञ्जय ढकाल
    बीबीसी न्यूज नेपाली

काठमाडौं, १६ आषाढ । यो साता मङ्गलवार र बुधवार कतिपय ठाउँमा भीषण वर्षा हुने सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सूचना जारी गरेपछि खास गरी विपद् रोक्नका निम्ति जोखिमअनुसार जनशक्ति र सामान परिचालन गरिएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

यसपालि नेपालमा मनसुन जुन १९ मा भित्रिएको हो। सामान्यतयाभन्दा छ दिनपछि भित्रिएको मनसुन प्रणालीले पर्याप्त वर्षा गराउन नसकेको विज्ञहरूको औँल्याएकै बेला विभागले भारी वर्षा हुन लागेको भन्दै सूचना जारी गरेको छ।

लामो समय चर्किएको गर्मीपछि भीषण वर्षा हुँदा बाढीपहिरोजस्ता विपद् निम्तिन सक्ने चिन्ता बढेको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारण मानिसहरूलाई त्यसबारे सचेत गराउँदै आइपरेको खण्डमा विपद्‌सँग जुझ्न आफूले तयारी गरिसकेको जनाएको छ।

कस्तो जोखिम

“कतिपय भूभागमा धेरै भारीसम्म वर्षा हुन सक्ने भएकाले हामीले यो सूचना जारी गरेका हौँ “, विभागकी प्रवक्ता विभूति पोखरेलले बताउनुभयो।

उहाँका अनुसार २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै परिमाणको वर्षा हुँदा धेरै भारी वर्षा भनिन्छ।

विभागले जारी गरेको सूचनाअनुसार असार १६ र १७ गते मनसुनी गतिविधि बढ्न गई मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन वा चट्याङसहित ‘भारी वर्षा’ तथा एक-दुई स्थानमा ‘धेरै भारी वर्षा’को समेत सम्भावना छ।

“बङ्गालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त हावाको प्रवाह क्रमशस् बढ्ने भएकाले मनसुन बाँकी भूभागमा पनि फेलिने सम्भावना छ।”

“तैकतै अचानक बाढी आउन सक्ने सम्भावना पनि भएकाले हामीले सतर्क रहन भनेका छौँ। एकदमै विपद् आइहाल्छ भन्न खोजेको होइन। तर जति बढ्ता सावधानी अपनाउन सकियो उति क्षतिबाट जोगिन सकिने भएकाले सजग हुन अनुरोध गरेका हौँ”, पोखरेलले बताउनुभयो।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सजग रहन अपील गरेको छ।

“यस्तो बेला अकस्मात् बाढी, पहिरो, कटान, गेग्रान बहाव, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम समेत हुने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन र पूर्वतयारी गर्नु हुन सबैमा अनुरोध छ”, उसले भनेको छ।

विपद् व्यवस्थापनको तयारी

हालको सरकारका गृहमन्त्री रहेका सुधन गुरुङले विपद्को प्रतिकार्यबारे बारम्बार चासो राख्दै आएका विवरण सञ्चारमाध्यममा आएका छन्।

उहाँले विगत ११ वर्षदेखि विपद्का बेला राहत उद्धारमा खटिएको अनुभव सुनाउदै यस पटक विपद्को तयारीमा सरकार चनाखो भएको बताउनुभएको छ।

उहाँकै मन्त्रालयमातहत रहेको प्राधिकरणले यो साता हुन सक्ने विपद्का घटनामा प्रतिकार्य गर्नका लागि तयारी गरिएको बताएको छ।

“हामीले सबैतिर अलर्ट (सावधान रहने खबरदारी) जारी गरेका छौँ। भारी वर्षा हुने ठानिएका जिल्लाका सीडीओ, सुरक्षा निकाय तथा स्थानीय पालिकाहरूलाई सावधान रहन भनेका छौँ”, प्राधिकरणका प्रमुख कार्यकारी तथा सहसचिव प्रदीपकुमार कोइरालाले भन्नुभयो ।

उहाँका अनुसार स्थितिको निरन्तर अनुगमनका क्रममा रातबिरात कतै ठूलो पानी पर्ने अनि बाढीपहिरोको जोखिम बढ्ने खण्डमा ती स्थानमा सवारी आवागमन रोक्ने गरी पनि तयारी भएको छ।

“कुनै ठाउँमा पहिरो गयो भने तत्काल बाटो खोल्न डोजरजस्ता साधन तयारी हालतमा राख्न पनि हामीले सडक विभागलाई भनेका छौँ”, कोइरालाले भन्नुभयो।

पूर्वी तथा पश्चिम तराईमा भारी वर्षा हुन सक्ने भनिएका क्षेत्रमा अलि बढी सावधानी अपनाइएको उहाँले बताउनुभयो।

उद्धार तथा राहतका निम्ति आवश्यक पर्ने सामग्रीहरूको भण्डारणको अद्यावधिक विवरणहरू लिइएको र सोमवार दिनैभरि उक्त कार्य जारी राखिने प्राधिकरणले बताएको छ। प्रदेशका गोदामघर तथा स्थानीय तहका गोदामहरूमा त्यस्ता सामग्री उपलब्ध रहेको बताइएको छ।

सुरुमा स्थानीय तहमा उपलब्ध सामग्रीहरूको प्रयोग हुने र थप आवश्यक परे सङ्घ सरकारको समन्वयमा प्रादेशिक गोदामघरका सामग्री उपलब्ध गराइने बताइएको छ।

विगतमा काठमाडौं उपत्यकाभित्रै बाढीका बेला गुहार मागिरहेका मानिसलाई जोगाउन नसकिएको पृष्ठभूमिमा उद्धारका निम्ति जनशक्ति तथा साधन दुवैको उत्तिकै महत्त्व रहने देखिएको छ।

२०८१ सालको असोज १२ गते ललितपुरको नक्खुखोलामा बाढी आउँदा जस्तापाताको टहरोको छानामा चढेर केही मानिसहरूले घण्टौँसम्म उद्धारका लागि पर्खिरहेको भिडिओ भाइरल भएको थियो।

उनीहरूलाई स्थानीयवासी र केही सुरक्षाकर्मीले डोरी पठाएर उद्धारको प्रयास गर्दागर्दै खोलाले बगाएको थियो भने दुई जना बेपत्ता नै भएका थिए। त्यस बेला हेलिकप्टर पठाएर उद्धार गर्न नसकिएको भनेर आलोचना भएको थियो।

कतिपय बेला धेरै भारी बोक्न सक्ने ड्रोनको आवश्यकता पर्ने गृहमन्त्री सुदन गुरुङले हालै सांसदहरूको जिज्ञासामा बताउनुभएको थियो।

“दुई सय किलोग्रामसम्म बोक्न सक्ने हेभी लिफ्टिङ ड्रोनहरू छन्। तर त्यस्तो सामग्री तत्काल व्यवस्था गर्न कठिन रहेछ। सार्वजनिक खरिद ऐनअनुसार कम्तीमा ४५ दिन चाहिन्छ। त्यतिन्जेल मनसुन नै सकिइसक्छ”, उहाँले भन्नुभएको थियो।

कतै चिन्ता, कतै आशा

नेपालको कृषिमा धानबालीले सर्वाधिक महत्त्व राखेको बताइन्छ। तर पर्याप्त वर्षा नभएकाले धेरै ठाउँमा रोपाइँ हुन सकेको छैन । धेरै पानी पर्ने चेतावनीले विपद्को चिन्ता बढिरहेका बेला लामो समयदेखि पर्याप्त पानी पर्खिरहेका किसानहरूमा भने आशा पलाएको छ।

असार १५ को धान दिवसको अगाडि देशभरि जम्माजम्मी १३.४९ प्रतिशतमात्र धान रोपाईँ भएको कृषि विभागले आँकडा दिएको छ। गत वर्ष यतिखेर १५.६२ प्रतिशत क्षेत्रमा रोपाइँ भइसकेको थियो।

यसपालि सबभन्दा धेरै गण्डकी प्रदेशमा झन्डै एकचौथाइ रोपाइँ भइसकेको छ भने मधेशमा सबभन्दा कम पाँच प्रतिशतमात्र रोपाइँ भएको छ।

नेपालमा कुल १३ लाख ८२ हजार हेक्टर क्षेत्रमा धान रोपाइँ गरिन्छ।

“क्षेत्रफलको हिसाबले धान रोपाइँ हुने जमिन घट्दो छ तर हाम्रो लक्ष्य उत्पादकत्व बढाउनेमा केन्द्रित छ। करिब ६० लाख मेट्रिक टन धान उत्पादनको हाम्रो लक्ष्य छ”, कृषि विभागका महानिर्देशक प्रकाश सञ्जेलले बताउनुभयो।

कृषि विभागद्वारा दिइएको आँकडाअनुसार धानबाली उत्पादनले मात्रै नेपालको कुल गार्हस्थ्य उत्पादन (६६ खर्ब रुपैयाँ) मध्ये दुई खर्ब रुपैयाँको योगदान दिएको छ।

नेपालमा वार्षिक करिब ७० लाख मेट्रिक टन आवश्यक रहेकोमा विद्यमान उत्पादनका आधारमा करिब १० लाख मेट्रिक टन अपुग हुने देखिन्छ।

“विगत केही वर्षमा उपभोक्ताको खानेबानीमा आएको परिवर्तनका कारण मसिना तथा बास्नादार चामलको माग वृद्धि हुँदा धानचामलको आयात समेत उल्लेख्य भएको छ”, विभागले भनेको छ।

Share Now