Prakash Adhikari September 30, 2018

 

काठमाडौं,१४ असोज । कमसल निर्माणबाट हुन जाने भौतिक र जनधनको क्षतिलाई न्यून गर्न नेपालका ईन्जिनियरहरुले नयाँ अभियान चलाएका छन् ।

नेपालका ईन्जिनियरहरुको छाता संगठनको रुपमा रहेको नेपाल ईन्जिनियर्स एशोसिएसन, थाईल्याण्डको एशियन इन्स्टिच्यूट अफ टेक्नोलजी(एआईटी) अध्ययन गरेका पूर्व विद्यार्थीहरुको संगठन एआटी एल्मुनाई एशोसिएसन अफ नेपाल र नलेज इन्टरप्राइजेज ग्रुप(केईजीं)ले संयुक्त रुपमा यो अभियानलाई देशव्यापी सञ्चालन गर्ने बताएका छन् ।

तीनवटै संस्थाको संयुक्त आयोजनामा गत शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कमसल निर्माणबाट २०७ २सालको भूकम्पमा नेपालले व्यहोर्नुपर्ने मानवीय र भौतिक क्षतिको दृष्टान्त प्रस्तुत गर्दै नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष डा. हरेराम श्रेष्ठले भन्नुभयो, ‘स्तरीय निर्माण सामग्री र ईन्जिनियरहरुको प्रत्यक्ष संलग्नतामा बनाइएका भवन र भौतिक संरचनाहरु अधिक सुरक्षित हुन्छन् । हामीलाई भूकम्पले पनि त्यस्तो पाठ पढाएको छ ।’

उहाँले असल निर्माणको अभ्यासको विषय नेपालमा मात्र नभएर बेलायतका ईन्जिनियरहरुले पनि अपनाउदै आएको अनुभव सुनाउदै भन्नुभयो, ‘उनीहरु पनि बेलायतले सहयोग गरेको विश्वका विभिन्न देशका विभिन्न परियोजनामा गुणस्तरीय सामग्री उपयोग भनेर पारदर्शी निर्मार्ण अभ्यास कार्यक्रम चलाउदा रहेछन् ।’

 

असल निर्माणको अभ्यास अभियानलाई हामा स्टीलले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत राखेर प्रायोजन गरेको छ । यो अभियानलाई देश व्यापी गर्ने सम्बन्धमा चारै पक्षबीच भदौ २७ गते संझौता सम्पन्न भएको थियो ।

कार्यक्रममा एआईटी एल्मुनाई एशोसिएसनका अध्यक्ष ईन्जिनियर किशोर शाक्यले नेपालमा पनि राजनीति पछि सबैभन्दा बढी चर्चा असल निर्माणको अभ्यासमा नै हुने गरेको बताउनुभयो । ‘कमसल निर्माणका कारण भएका दुर्घटना र क्षतिका बारेमा दिनहुँ समाचार आइरहेका छन्’ ,उहाँले भन्नुभयो, ‘यो असल निर्माण पद्धति बसाउनुपर्दछ भन्ने सन्देश नै हो ।’

उहाँले असल निर्माणको विषय निर्माणकार्यमा संलग्न प्राविधिक, श्रमिक, ठेकेदारहरु र निर्माताहरु सबैमा पुर्याउनु पर्ने आवश्यकता पनि औल्याउनुभयो ।

कार्यक्रममा नलेज इन्टरप्राइजेज ग्रुपका ईञ्जिनियर देवश भट्टराईले सुरक्षित आवास हरेक व्यक्तिको चाहाना भएकोले असल निर्माण अभ्यासको सन्देश सबैका लागि उत्तिकै उपयोगी हुने बताउनु भयो । उहाँले समस्त नेपालीलाई सुरक्षित आवास र भौतिक संरचना बनाउने सन्देश पुर्याउन यो अभियान थालिएको बताउनुभयो ।

यस अभियान अन्तरत हाल तीनैवटा संस्थाहरुले नेपाल इन्जिनियर्स एशोसिएसनको शाखाहरु रहेका क्षेत्रमा सेमिनार गर्नुको साथै रेडियो कान्तिपुरबाट असल निर्माण अभ्यास नामक रेडियो कार्यक्रम प्रशारित गर्ने गरेको छ ।

कार्यक्रममा हामा स्टिलका प्रबन्ध निर्देशक राजन श्रेष्ठले सुरक्षित आवास र भौतिक संरचना निर्माणमा आम नेपालीलाई सचेत बनाउने अभिप्रायले यो अभियान थालिएको बताउनुभयो ।

नलेज हव ग्रुपका भानु दवाडीले अभियानको बारेमा प्रकाश पार्नुभएको सो कार्यक्रममा एआईटी एल्मुनाई एशोसिएसन नेपालका महासचिव ई.डा. चन्द्रिका भट्टले सञ्चालन गर्नुभएको थियो भने उपाध्यक्ष ई. दिनेश मानन्धरले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रममा रेडियो कान्तिपुरका कार्यक्रम निर्माता प्रज्ज्वल खड्काले असल निर्माण अभ्यासले व्यक्तिलाई मात्र नभएर सामाजिक र राजनीतिक नेतृत्वलाई गुणस्तीय निर्माण गर्न अभिप्रेरित गरेका घट्नाहरु सुनाउनुभएको थियो ।

Share Now

Leave a comment.