वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), २१ आषाढ(बीबीसी) । अमेरिका ब्रिटेनबाट स्वतन्त्र भएको २५०औँ वार्षिकोत्सव मनाउँदै छ ।
हिजो रसमोर पहाडी क्षेत्रमा र आज राजधानी वाशिड.टन डीसीमा भएको सम्बोधनमा डोनल्ड ट्रम्पले अमेरिकी उद्यमशीलताको स्मरण, कम्युनिस्टहरूको निन्दा र सत्तामा आएयताका आफ्ना उपलब्धिहरूको चर्चा गर्नुभयो।
“अमेरिकी सपना फर्किएको छ”, उत्साहित भीडलाई उहाँले भन्नुभयो। अमेरिकी राष्ट्रपतिले सेना र प्रहरीमा भर्तीका लागि प्रतिस्पर्धा बढेको बताउँदै त्यसको अर्थ अब उक्त क्षेत्रमा जागिर पाउन गाह्रो भएको जनाउनुभयो।
आफ्नो ४० मिनेट लामो भाषणमा ट्रम्पले साम्यवादको भयलाई बारम्बार उल्लेख गर्दै त्यसलाई क्यान्सरसँग तुलना गर्नुभयो र निर्मुल गरिनुपर्ने बताउनुभयो।
सम्बोधन सुरु गरेको करिब सात मिनेटपछि ट्रम्पले कम्युनिस्ट भन्ने शब्दावली उच्चारण गर्नुभयो जसलाई उहाँले प्रायः डेमोक्र्याट र अन्य राजनीतिक विरोधीहरूसँग जोड्ने गर्नुहुन्छ।
“स्यालुट टू अमेरिका” नाम दिइएको उक्त समारोह आँधीबेहरीको खतराका कारण घण्टौँ ढिलो गरी सुरु भएको थियो।
जहाँ राष्ट्रपति ट्रम्पले ऐतिहासिक झण्डामा केन्द्रित हुँदै र युद्ध नायकहरूलाई मञ्चमा आमन्त्रित गर्दै अधिकांश इतिहास केन्द्रीत भाषण दिनुभयो।
राजनीतिकरण
कैयौँ विपक्षीहरूले राष्ट्रपति ट्रम्पले एउटा कोसेढुङ्गाको रूपमा रहेको उक्त वार्षिकोत्सवलाई राजनीतिकरण गरेको आरोप लगाएका छन्।
उहाँको भाषण आफ्नो विधायीकी मुद्दामा पनि ढल्किएको थियो जहाँ उहाँले ‘सेभ अमेरिका एक्ट’ भनिने मतदान सुधार सम्बन्धी कानुन पारित गराउने बाचा गर्नुभएको थियो।
उक्त कानुनले मतदान गर्दा नागरिकता र परिचयपत्रको प्रमाण अनिवार्य गर्ने प्रस्ताव गर्नुका साथै बिरामी, सैन्य तैनाथी वा अन्य असाधारण परिस्थितिबाहेक हुलाकबाट मतदान गर्न प्रतिबन्ध लगाउने कुरा उठाएको छ।
त्यसैगरी उहाँले जन्मसिद्ध नागरिकता खारेजीको प्रयास गरेको कार्यकारी आदेशका साथै दोस्रो संशोधनको रक्षा गर्ने प्रयासहरू अर्थात् हतियार बोक्ने अधिकारको पक्षमा बोल्नुभयो ।
उहाँले हतियार बोक्ने अधिकारको बचाउ गर्ने काम जारी राख्ने वाचा गरिरहँदा भीडले चिच्याउँदै ताली बजाएको थियो।
र उहाँले आफ्ना विदेशी हस्तक्षेपहरूको सन्दर्भ उल्लेख गर्ने क्रममा भेनेजुएलामा अमेरिकी सेनाले पूर्वराष्ट्रपति निकोलस मदुरोलाई कब्जा गरेको र इरानी नौसेनामा हमला गरेको कुरा उठाउनुभयो ।
विवाद
संयुक्त राज्य अमेरिकाले आफ्नो २५०औँ स्थापना दिवस राष्ट्रव्यापी कार्यक्रमहरूका साथ मनाउँदैछ जसमा कन्सर्ट र फ्लाईपास्ट शृङ्खलाका साथै आतसबाजीहरू समावेश छन्।
इतिहासकै सबैभन्दा ठूलो प्रदर्शनको लागि गिनिज वर्ल्ड रेकर्ड तोड्ने लक्ष्य राखिएको ४० मिनेटको कार्यक्रममा आतसबाजीले वाशिङ्गटन डीसीलाई उज्यालो पारेको छ।
तर राष्ट्रिय स्मरण र उत्सवको क्षणको रूपमा प्रस्तुत गरिएको उक्त उत्सव विवादमुक्त भने रहेन।
तीव्र रूपमा विभाजित देशमा ट्रम्पले आफूलाई देशको राजनीतिक कोसेढुङ्गाको रूपमा मनाइने स्थापना दिवसको केन्द्रबिन्दु बनाएको भनेर आलोचना भएको छ। यो कार्यक्रम कङ्ग्रेसद्वारा स्थापित कार्यक्रमहरूबाट अलग छ।








