Prakash Adhikari July 6, 2026

न्यु जर्सी(संयुक्त राज्य अमेरिका), २२ आषाढ । ब्राजिलका स्टार फरवार्ड नेयमारले राष्ट्रिय टोलीबाट आफ्नो यात्रा समाप्त भएको घोषणा गरेका छन्।

फिफा विश्वकप २०२६ को प्रि–क्वार्टरफाइनलमा नर्वेसँग २–१ ले पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने निर्णय सार्वजनिक गरेका हुन्।

खेलपछि भावुक हुँदै ३४ वर्षीय नेयमारले भने,‘मैले आफ्नो सम्पूर्ण प्रयास गरें। मेरो राष्ट्रिय टोलीको यात्रा यही मेटलाइफ स्टेडियमबाट सुरु भएको थियो र यहीं आएर समाप्त भयो। अब यो अध्याय सकिएको छ।’

नेयमारले सन् २०१० अगस्ट १० मा अमेरिकाविरुद्धको मैत्रीपूर्ण खेलबाट ब्राजिलका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए। त्यो खेल पनि न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममै भएको थियो। संयोगवश, राष्ट्रिय टोलीको अन्तिम खेल पनि सोही मैदानमा सम्पन्न भयो।

नर्वेविरुद्धको खेलमा नेयमार दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए। उनले इन्जुरी समयमा पेनाल्टीमार्फत एक गोल गरे पनि ब्राजिललाई हारबाट बचाउन भने सकेनन्।

दायाँ खुट्टाको पिँडुलामा लामो समयदेखि रहेको चोटका कारण नेयमारले यस विश्वकपमा सीमित अवसर मात्रै पाए। उनले ब्राजिलका पाँचमध्ये दुई खेल खेले भने समूह चरणमा स्कटल्यान्डविरुद्ध १५ मिनेट मात्र मैदानमा उत्रिएका थिए।

download – 2026-07-06T070321.233
पछिल्ला केही वर्षयता लगातारको चोटका कारण नेयमारको प्रदर्शन प्रभावित हुँदै आएको थियो। एक दशकभन्दा बढी समयसम्म ब्राजिलको मुख्य खेलाडीका रूपमा रहेका उनी अब राष्ट्रिय टोलीबाट बिदा भएका छन्।

ब्राजिलका कप्तान मार्किन्होसले अब नयाँ पुस्तालाई अवसर दिनुपर्ने समय आएको भन्दै समर्थकसँग धैर्य राख्न आग्रह गरेका छन्। उनले भने,‘हामी सबै समर्थकलाई नयाँ पुस्तामाथि विश्वास गर्न र सुरुदेखि नै उनीहरूलाई पूर्ण साथ दिन आग्रह गर्छौं। ब्राजिलको भविष्य उनीहरूकै हातमा छ।’

नेयमारको सन्न्याससँगै ब्राजिल फुटबलको एक सफल युगको औपचारिक अन्त्य भएको छ। अब पाँच पटकको विश्वविजेता टोली नयाँ पुस्ताको नेतृत्वमा आगामी चुनौतीका लागि अघि बढ्नेछ।

Share Now