काठमाडौं, २३ आषाढ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बालेन सरकारले राज्य शक्तिको दुरुपयोग गरी पार्टी सभापति रवि लामिछानेमाथि लागेका सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दाहरु फिर्ता लिन चालेको कदम प्रधानमन्त्री बालेन्द्र शाहका लागि भारी पर्ने देखिएको छ ।
असारको दोस्रो साता सम्पन्न चितवनमा सम्पन्न पार्टी महाधिवेशनबाट सभापति लामिछानेले पार्टीको संसदीय दलको नेताबाट प्रधानमन्त्री बन्नुभएका शाहलाई लक्षित गरेर पार्टी विधान सभापतिमुखी बनाउन सफल हुनुभएको छ ।
यही असार ७ देखि १२ गतेसम्म सम्पन्न महाधिवेशनबाट पारित यस विधानले पार्टी सभापतिलाई शक्तिशाली बनाएको छ भने संसदीय दलका नेतालाई नियन्त्रणमा राख्ने गरी कडा कानुनी प्रावधानहरू थपेको छ।
विधानको नयाँ व्यवस्था अनुसार पार्टी सभापतिले दिएको नीतिगत मार्गनिर्देशन पालना नगरेको खण्डमा संसदीय दलको नेतालाई पदमुक्त गर्न सकिने प्रावधान राखिएको छ। हाल रास्वपाको संसदीय दलको नेता प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ हुनुहुन्छ।
विधानमा पार्टी सभापति र संसदीय दलको नेता फरक(फरक व्यक्ति भएको अवस्थामा संसद्मा पार्टीको आधिकारिक नीति, सिद्धान्त र दृष्टिकोणको प्रभावकारी कार्यान्वयनका लागि सभापतिले आवश्यक नीतिगत निर्देशन दिने स्पष्ट पारिएको छ।
विधानको दफा ६८ (१) (ङ) र ११ (क) को ३ बमोजिम सभापतिको निर्देशन उल्लंघन गरेमा वा संसदीय दलभित्रै प्रत्याह्वान वा अविश्वासको प्रस्ताव पारित भएमा संसदीय दलको नेताको पद रिक्त हुने व्यवस्था छ । यसले बालेन शाहमाथि पार्टी नेतृत्वको नियन्त्रण र निगरानीलाई मजबूत बनाएको छ।
यसैगरी नयाँ विधानले पार्टीको नेतृत्व संरचनामा ‘वरिष्ठ नेता’ को नयाँ पद सिर्जना गर्दै आवश्यकता र योगदानका आधारमा दुई वा सोभन्दा बढी नेतालाई यो जिम्मेवारी दिन सकिने बाटो खुला गरेको छ।
यसअघि बालेन शाह रास्वपामा समायोजन हुँदा उहाँलाई मात्र वरिष्ठ नेताको पहिचान दिइएको थियो । यद्यपि तत्कालीन विधानमा यस्तो कुनै स्पष्ट व्यवस्था थिएन। नयाँ व्यवस्था अनुसार लामो राजनीतिक अनुभव भएका र नीति निर्माणमा योगदान पुर्याएका व्यक्तिलाई सभापतिको प्रस्तावमा केन्द्रीय समितिले वरिष्ठ नेता मनोनीत गर्न सक्नेछ।
वरिष्ठ नेताको मर्यादाक्रम सभापतिपछिको दोस्रो स्थानमा रहने भए तापनि उनीहरूलाई पार्टीको दैनिक कार्यसञ्चालन र द्रुत निर्णय लिने कार्यकारी अंग ‘सचिवालय’ मा भने समावेश गरिएको छैन।
सभापतिको नेतृत्वमा गठन हुने बढीमा ३३ सदस्यीय यस सचिवालयमा उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्ता पदेन सदस्य रहनेछन् भने बाँकी २० सदस्य सभापतिले केन्द्रीय सदस्यहरूमध्येबाट मनोनयन गर्नेछन्।
पार्टीको सांगठनिक ढाँचा तर्फ विधानले कुल १ सय ५८ सदस्यीय केन्द्रीय समितिको परिकल्पना गरेको छ। यसमा महाधिवेशनबाट सभापति सिधै निर्वाचित हुनेछन् भने ९९ जना केन्द्रीय सदस्य पनि निर्वाचन प्रणालीबाटै आउनेछन्। सात प्रदेशका सभापति पदेन सदस्य रहन्छ भने बाँकी ५१ जना केन्द्रीय सदस्य मनोनयन गर्ने एकल अधिकार सभापतिलाई सुम्पिएको छ । केन्द्रीय समितिका ९९ सदस्यका लागि मिश्रित वैज्ञानिक प्रतिनिधित्व प्रणाली अपनाइनेछ, जसमा प्रदेशगत रूपमा ३५ जना र राष्ट्रिय रूपमा ६४ जना निर्वाचित हुने व्यवस्था छ।
यस निर्वाचन प्रणालीमा प्रदेशबाट निर्वाचित भएर आउने केन्द्रीय सदस्यहरूले पार्टीको केन्द्रीय पदाधिकारीका लागि प्रतिस्पर्धा गर्न नपाउने बन्देज लगाइएको छ, जसले केन्द्रीय र प्रादेशिक नेतृत्वको सिमानालाई स्पष्ट पारेको छ।
राष्ट्रिय प्रतिनिधित्वका ६४ सिटमध्ये ३२ खुला र ३२ समन्यायिक समावेशी कोटामा विभाजन गरिएको छ, जहाँ खस आर्य, जनजाति, मधेसी, दलित, थारू र मुस्लिमसहित पिछडिएको क्षेत्र र अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्वको गणितीय ग्यारेन्टी गरिएको छ।
साथै, केन्द्रीय समितिमा समग्रमा एकतिहाइ अर्थात् ३३.३३ प्रतिशत महिलाको उपस्थिति अनिवार्य गरिएको छ भने प्रवासमा रहेका नेपालीहरूका लागि सभापतिले मनोनयन गर्ने ५१ सिटमध्ये कम्तीमा ३ सिट सुरक्षित गरिएको छ।
पदाधिकारी चयनको सन्दर्भमा २ उपसभापति, १ महामन्त्री र ३ सहमहामन्त्री निर्वाचनबाट आउनेछन् भने १ उपसभापति, १ महामन्त्री, २ सहमहामन्त्री, १ कोषाध्यक्ष, २ सहकोषाध्यक्ष, १ प्रवक्ता र ३ सहप्रवक्तासहित ११ जना पदाधिकारी सभापतिले सिधै मनोनयन गर्ने व्यवस्था गरिएको छ।
पार्टीभित्रको सम्पूर्ण शक्तिलाई सभापति केन्द्रित बनाउने क्रममा विधानले सभापतिलाई विशेष विशेषाधिकार समेत प्रदान गरेको छ। केन्द्रीय समिति वा अन्य कुनै निकायले गरेको निर्णयले पार्टीको मूल सिद्धान्त वा राष्ट्रिय हितमा गम्भीर असर पार्ने देखिएमा सभापतिले त्यसलाई पुनर्विचारका लागि फिर्ता पठाउन सक्नेछन्।
त्यसैगरी, पार्टीको छविमा आँच पुर्याउने वा अनुशासनहीन काम गर्ने जुनसुकै तहका सदस्य वा पदाधिकारीलाई प्रारम्भिक छानबिनकै आधारमा सभापतिले तत्काल पदबाट निलम्बन गर्न सक्ने कडा व्यवस्था राखिएको छ।
बालेन शाह स्वेच्छिक ढंगले काम गर्ने परिपाटीलाई नियन्त्रण गर्न पार्टी सभापति रवि लामिछानेले निकै चलाखीपूर्वक यो कडा र नियन्त्रणमुखी वैधानिक बाटो रोजेको देखिन्छ। रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री पदबाट बालेनलाई हटाएर आफू आउने बाटो क्लियर गर्नुभएको छ ।








