काठमाडौं, २३ आषाढ । साताको दोस्रो कारोबार मंगलवार नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिन घटेर बन्द भएको धितोपत्र बजार आज बढेको हो ।
मंगलबार धितोपत्र बजार परिसूचक २४.५७ अंक बढेर २६५१.६८ विन्दुमा पुगेको छ।
आज कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ३ अर्ब ५५ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय ५२ स्टकको ९५ लाख १९ हजार कित्ता शेयर खरिदबिक्रीबाट ४ अर्ब ४० करोड ७ लाख ५२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिन कालंगा हाइड्रोको शेयरको सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ६७ रुपैयाँ ३० पैसा बढेर ५१६ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन आरबीबी फोकस ४० को इकाईमूल्य करिब १४ प्रतिशत बढेको छ भने सानिगाड हाइड्रोको शेयरमूल्य साढे १० प्रतिशत बढेको छ।
कारोबार रकमका आधारमा यस दिन १० प्रतिशत केबिएल डिबेञ्चर २०९० शीर्ष स्थानमा रहेको छ। यस दिन २० करोड ७५ लाख रुपैयाँबराबरको सो डिबेञ्चर कारोबार भएको छ। त्यस्तै, यस दिन एग्रीकल्चर बैंक डिबेञ्चर २०८३ को करिब १८ करोड रुपैयाँको कारोबार भएको छ भने ग्लोबल आइएमई बैंकको कारोबार रकम साढे १६ करोड रुपैयाँ नाघेको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.८९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग र विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।








