न्युयोर्क(संयुक्त राज्य अमेरिका), २ साउन (एजेन्सी) । लियोनेल मेस्सी नेतृत्वको अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को फाइनलमा युरोपियन च्याम्पियन स्पेनको सामना गर्ने भएको छ।
खेल संयुक्त राज्य अमेरिकाको न्युयोर्क निकट न्युजर्सीको इष्ट रदरफोर्डस्थित मेटलाइर्फ स्टेडियममा आइतबार राति १२:४५ बजे सुरु हुनेछ।
मेस्सीले आफ्नो क्लब करियरको अधिकांश समय बिताएको देश स्पेनविरुद्ध खेलिने यो फाइनल दुई फरक फुटबल शैलीबीचको रोमाञ्चक भिडन्तका रूपमा हेरिएको छ।
स्पेनको यात्रा
स्पेनले सेमिफाइनलमा उपाधिको प्रमुख दाबेदार फ्रान्सलाई उत्कृष्ट प्रदर्शनसहित पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।
प्रशिक्षक लुइस डे ला फुएन्तेको टोलीले बलमाथिको नियन्त्रण र सटीक फिनिसिङमार्फत खेलभर फ्रान्सलाई दबाबमा राखेको थियो।
स्पेनले समूह चरणमा समूह ‘एच’ को विजेता बने पनि सुरुआत सहज थिएन। पहिलो खेलमा केप भेर्डेसँग गोलरहित बराबरी खेलेको स्पेनले त्यसपछि साउदी अरेबियालाई ४-० ले हरायो र उरुग्वेमाथि १-० को जित निकाल्दै नकआउट चरणमा प्रवेश गर्यो।
राउन्ड अफ ३२ मा अस्ट्रियालाई ३-० ले पराजित गरेको स्पेनले त्यसपछि पोर्चुगल र बेल्जियमविरुद्ध लगातार अन्तिम समयमा मिकेल मेरिनोको निर्णायक गोलमा जित निकाल्यो। प्रतियोगिताभर स्पेनले हालसम्म केवल एक गोल मात्र व्यहोरेको छ।
स्पेन सन् २०१० मा दक्षिण अफ्रिकामा पहिलो पटक विश्वकप जितेपछि पहिलो पटक फाइनलमा पुगेको हो।
अर्जेन्टिनाको यात्रा
साविक विजेता अर्जेन्टिनाले लगातार दोस्रो तथा समग्रमा सातौं विश्वकप फाइनल यात्रा तय गरेको छ। कप्तान लियोनेल मेस्सीको प्रेरणादायी प्रदर्शनमा अर्जेन्टिनाले समूह चरणका तीनै खेल जित्यो।
मेस्सीको ह्याट्रिकमा अल्जेरियालाई ३-०, अस्ट्रियालाई २-० तथा जोर्डनलाई ३-१ ले हराउँदै अर्जेन्टिनाले शतप्रतिशत नतिजासहित समूह चरण पार गर्यो।
मेस्सीले यस विश्वकपमा ८ गोल गरिसकेका छन् भने विश्वकप इतिहासमा उनको कुल गोल संख्या २१ पुगेको छ।
नकआउट चरणमा भने अर्जेन्टिनाको यात्रा निकै कठिन रह्यो। केप भेर्डेलाई अतिरिक्त समयमा ३-२ ले पराजित गरेको टोलीले इजिप्टविरुद्ध २-० ले पछि परेको अवस्थाबाट ऐतिहासिक पुनरागमन गर्दै ३-२ को जित निकालेको थियो।
क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले हराएको अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध पनि पुनरागमन गर्दै २–१ को जित निकाल्यो।
दोस्रो हाफमा एन्थोनी गोर्डनले इंग्ल्यान्डलाई अग्रता दिलाए पनि एन्जो फर्नान्डेजको लामो दूरीको गोल र वैकल्पिक खेलाडी लाउटारो मार्टिनेजको हेडरले अर्जेन्टिनालाई फाइनल पुर्यायो।
विश्वकप फाइनलमा पहिलो भिडन्त
स्पेन र अर्जेन्टिना विश्वकपमा यसअघि केवल एकपटक मात्रै भिडेका छन्। सन् १९६६ को विश्वकप समूह चरणमा भएको उक्त खेल अर्जेन्टिनाले २-१ ले जितेको थियो।
दुवै टोलीबीच हालसम्म १३ वटा मैत्रीपूर्ण खेल भएका छन्, जसमा स्पेनले ६, अर्जेन्टिनाले ५ खेल जितेका छन् भने २ खेल बराबरीमा सकिएका छन्। पछिल्लो भेट २०१८ मा भएको थियो, जहाँ स्पेनले अर्जेन्टिनालाई ६-१ ले पराजित गरेको थियो।
सम्भावित सुरुआती टोली
स्पेन- सिमोन, पोरो, लापोर्ते, कुबार्सी, कुकुरेला, रोड्री, फाबियन, लामिन यामाल, ओल्मो, बाएना, ओयारजाबाल।
अर्जेन्टिना- मार्टिनेज, नाहुएल, रोमेरो, लिसान्द्रो मार्टिनेज, टालियाफिको, परेडेस, म्याक एलिस्टर, एन्जो फर्नान्डेज, जुलियानो सिमेओने, लियोनेल मेस्सी, जुलियन आल्भारेज।








