काठमाडौं, ६ साउन। नेपाली कांग्रेस संस्थापन इतर पक्षले राष्ट्रिय भेला घोषणा गरेको छ ।
बीपी कोइरालाको ४४ औं स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता प्रकाशमान सिंहले राष्ट्रिय भेलाको घोषणा गर्नुभएको हो ।
उहाँका अनुसार, साउन २९ गते काठमाडौंमा गर्नेगरी राष्ट्रिय भेला तय गरिएको हो ।
‘हामीले सातै प्रदेशमा भेला गरिसकेका छौं,’ उहाँले भन्नुभयो, ‘यो भेलापछि हामी आफ्नो बाटो लिन्छौं ।’
सम्बोधनको क्रममा नेता सिंहले १५ औं महाधिवेशन एकताको बनाउनुपर्ने पक्षमा आफूहरू रहेको बताउनुभयो।
निस्क्रिय नबस्ने, युवाहरुलाई सारेर बढ्ने
कार्यक्रममा नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको उदारहण दिंदै भन्नुभयो, संस्थापन पक्षका सभापतिले चाहदा पार्टी एकीकरण संभव छ । हामीले नेता र पदाधिकारीको समायोजन चाहेका होइनौ । पार्टीमा विशेष महाधिवेशन पक्षधर र नियमित महाधिवेशन पक्षधर जुन दुई समूह छन्, ती दुवैलाई मिलाएर १५ औं महाधिवेशन एकताको महाधिवेशन बनाऔं भनेका हौ । हामीलाई पदको लालसा छैन । हामी सक्रिय बन्छौ । युवाहरुलाई अगाडि सारेर रक्षाकवच बन्छौ ।
उहाँले विगतमा गिरिजाबाबुले चाहदा पार्टी एकता भएजस्तै पार्टी सभापति गगनकुमार थापाले चाहे एकता हुने र नचाहदासम्म एक हुन नसक्ने बताउनुभयो ।
उहाँले नेपाली कांग्रेस स्थापनाकालदेखि इतिहासमा पहिलोपटक निकै प्रतिकूल अवस्थामा पुगेको बताउनुभयो ।
पूर्वकार्यवाहक सभापति खड्काले विशेष महाधिवेशन पार्टीको विधानविपरीत भएको पनि टिप्पणी गर्नुभयो ।
पार्टीभित्रको निरंकुशताविरुद्ध लड्ने
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कांग्रेसभित्र हुकुमी शासन जन्मिएको बताउदै त्यसको अन्त्यका लागि लड्ने बताउनुभयो । ।
बुधबार प्रज्ञा भवनमा बीपी कोइरालाको ४४ औं स्मृति दिवसमा आयोजित कांग्रेसको संस्थापन इतर समूहको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले भन्नुभयो,नेपाली कांग्रेसमा पनि कताकता हुकुमी शासन चलिराखेको मैले महशुस गरिराखेको छु वडा सभापतिहरू बिना स्पष्टीकरण, बिना सोधपुछ अद्यावधिक किन नगरेको, किन नगराएको नाममा निकालिएको छ । त्यो हामीहरू कसैलाई पनि सह्य हुनसक्दैन । किनभने निरंकुशताको अन्त्यका लागि नेपाली कांग्रेसको जन्म भएको हो । उहाँले थप्नुभयो ‘नेपाली कांग्रेसभित्र निरंकुशता जन्म भइरहेको छ । त्यसको अन्त्य हामीले गर्नुपर्ने जरुरी छ ।’
पार्टी सञ्चालन र एकताका विषयमा गम्भीर बन्न उहाँले सभापति गगन थापासँग आग्रह गर्नुभयो
।
प्रजातान्त्रिक समाजवाद छोड्न नसकिने
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बीपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवाद र अहिले चर्चामा आएको सामाजिक लोकतन्त्र एउटै नभएको टिप्पणी गर्नुभएको छ ।
‘नेपाली कांग्रेस भाग २ भनिएको छ । २.० भनिएको छ । त्यो भनेको के हो ?तपाईँहरूले कहिल्यै बुझ्न खोज्नुभयो ?,’ कोइरालाले प्रश्न गर्नुभयो, ‘सभापति(गगन थापा)जीले आफ्नो विशेष अधिवेशनमा, आफ्नो भाषणमा सामाजिक लोकतन्त्रको कुरा गर्नुभएको छ, बीपीको विचार प्रजातान्त्रिक समाजवाद हो, के नेपाली कांग्रेसले बीपीको विचार थाँती राखेको हो ?’
उहाँले प्रजातान्त्रिक समाजवाद र सामाजिक लोकतन्त्र सुन्दा उस्ताउस्तै सुनिएपनि फरक रहेको बताउनुभयो ।
उहाँले कांग्रेसले प्रजातान्त्रिक समाजवाद कहिल्यै छाड्न नसक्ने बताउनुभयो।
अग्रगमन होइन, पश्चगमन
नेपाली कांग्रेसका पूर्वउपसभापति बिमलेन्द्र निधिले कांग्रेस ‘प्रजातान्त्रिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’मा जानु पश्चगमन भएको टिप्पणी गर्नुभयो।
बीपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवाद नेपाली राजनीतिको चीरकालीक दर्शन रहेको निधिले बताउनुभयो । उहाँले कांग्रेसले बीपी कोइरालाको सधैँ सम्मान र बीपी विचार अनुशरण गरिरहेको बताउँदै भन्नुभयो,” पछिल्लो रास्वपाको चितवन महाधिवेशनमा ‘सामाजिक लोकतन्त्र’को प्रसंग उठेपछि त्यसलाई कांग्रेससँग जोडेर बहस सुरु भएको छ ।”
‘जब सामाजिक लोकतन्त्रको विचारधारा रास्वपाको चितवन महाधिवेशनले तय गरेपछि वैकल्पिक शक्तिको सातौं रूपमा हो भनेर बहस भइरहेको छ । त्यसलाई प्रतिस्पर्धा कांग्रेसीले गर्नथाले–रास्वपा त दोस्रो हो, पहिलो त कांग्रेस हो । गगन थापा जसले सामाजिक लोकतन्त्रलाई कांग्रेसमा प्रवेश गराएको छ । त्यसकारण गगन थापा वैचारिक नेता हो भन्न थालियो । उहाँले थप्नुभयो, ‘माफ गर्नुहोला नेपालमा केही शुक्राचार्य हुनुहुन्छ, शुक्राचार्यहरूले त्यसको व्याख्या गर्नुहुन्छ ।’
‘म यो भन्न चाहन्छु, बीपी स्मृति दिवसका अवसरमा सामाजिक लोकतन्त्रको एजेन्डा यदि कांग्रेसले ग्रहण गरेको छ भने त्यो अग्रगमन होइन, पश्चगमन हो,’ निधिले भन्नुभयो ।
नेपाली कांग्रेस बीपीको विचारप्रति प्रतिबद्ध हुने हो भने प्रजातान्त्रिक समाजवादप्रति प्रतिबद्ध हुनैपर्ने उहाँले बताउनुभयो । ‘प्रजातान्त्रिक समाजवादप्रतिको प्रतिबद्धता कायम रहेन, प्रजातान्त्रिक समाजवादको सट्टा सामाजिक लोकतन्त्र एडप्ट गर्नु भनेको यो गर्व को कुरा होइन,प्रतिगमन हो, पश्चगमन हो । म आरोप लगाउँछु, यसमा बहस होस् म चाहन्छु ।’
निधिले वीपी कोइराला नेपालमा लोकतन्त्र, आधुनिक राज्य प्रणाली, बहुदलीय संसदीय प्रजातन्त्रको सुरुआत गर्ने महापुरुष भएको बताउनुभयो ।
कांग्रेसको आत्मा गगनसंग नभएको गच्छदारको टिप्पणी
नेपाली कांग्रेसका पूर्वउपभासपति विजयकुमार गच्छदारले सभापति गगन थापासँग कांग्रेसको आत्मा नभएको टिप्पणी गरेका छन् ।
काठमाडौंमा इतर पक्षले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता गच्छदारले भन्नुभयो,‘कांग्रेस यहाँ छ, कांग्रेसको भावना यहाँ छ, कांग्रेसको आत्मा यहाँ छ । कांग्रेसमा त्याग, बलिदान गरेका नेताहरू तपाईँभन्दा बाहिर छन् गगनकुमार थापा जी ।’
उहाँले गम्भीर ढंडले सोचेर पार्टी एकताबद्ध बनाउने सभापति थापासँग आग्रह गर्नुभयो ।
संस्थापनले बिलम्ब गरे नयाँ कार्यदिशा
नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति गगन थापालाई कपट नगरी पार्टी एकताको वातावरण बनाउन आग्रह गर्नुभयो ।
‘अझै पनि भन्न चाहन्छौं, तपाईँ गगन थापा सहासी बन्नुस्, अकपट बन्नुस् । असंकोच भएर, खुला छाती राखेर मैले जोडेँ कांग्रेस भन्ने आँट गर्नुस्,’ सिटौलाले भन्नुभयो, ‘तपाईँलाई जसले रोक्छ त्यसलाई धकेल्नुस्, तपाईँ पट्टी आउन नदिनुस् । यति आँट छैन तपाईँमा ?’
इतर पक्षले कुनै छलछाम नगरेको उल्लेख गर्दै उहाँले भन्नुभयो ‘हामी छलछाम गरिरहेका छैनौं । यो महिनाको अन्तिम समयसम्म पुग्दा हामीले भनेका छौं, एउटा भेला हुन्छ राष्ट्रिय भेला । नयाँ कार्यदिशा तय हुन्छ । के हो नयाँ कार्यदिशा ?सबले बुझ्छन् ।
उहाँले आफूहरुले सबै कुरा छलछाम नगरेर प्रष्ट भनिरहेको पनि दावी गर्नुभयो ।
पार्टीलाई एकताबद्ध बनाउने जिम्मा वर्तमान नेतृत्वको
नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्र देखिएका असन्तुष्टि, मतभेद र विवादहरूलाई समयमै सम्बोधन गरी संगठनलाई थप सुदृढ, गतिशील र एकताबद्ध बनाउने प्रमुख जिम्मेवारी वर्तमान नेतृत्वको रहेको बताउनुभएको छ ।
४४औं वीपी स्मृति दिवसको अवसरमा वक्तब्य जारी गर्दै कोइरालाले नेतृत्वले सवै नेता कार्यकर्ताको स्वाभिमानलाई सम्मान गर्दै संवाद, सहमति र सहकार्यको वातावरण निर्माण गर्नसके मात्र कांग्रेस वास्तविक रूपमा एकताबद्ध हुने बताउनुभयो ।
‘अन्यथा पार्टी एकतामा क्षति तथा पार्टी विभाजनको अवस्थामा पुग्यो भने त्यसको राजनीतिक तथा नैतिक जिम्मेवारी वर्तमान नेतृत्वले नै लिनुपर्छ’, कोइरालाले भन्नुभयो ।
उहाँले अहिले मुलुकले जटिल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चुनौतीहरूको सामना गरिरहेको बताउँदै बीपी कोइरालाले लामो निर्वासनपछि राष्ट्रहितलाई सर्वोच्च स्थानमा राखेर राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केको स्मरण गर्दै यी चुनौतीहरूको सामना गर्ने सामर्थ्य आज कांग्रेसले राख्न सक्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘लोकतान्त्रिक संस्थामाथिको हस्तक्षेप चिर्दै मुलुकलाई सही दिशा दिन जिम्मेवार राजनीतिक शक्तिहरूले परिपक्व सहकार्यका साथ दूरदृष्टि राखेर अघि बढ्नु आजको आवश्यकता हो ।’
उहाँले लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी शक्ति नेपाली कांग्रेसभित्र देखिएका असमझदारी, अविश्वास, समूहगत अस्वस्थ्य प्रतिस्पर्धा र अनावश्यक विवादले पार्टीलाई कमजोर तथा नागरिकमा समेत नकारात्मक प्रभाव पार्ने खतरालाई नजरअन्दाज गर्न नहुने बताउनुभयो ।
पूर्वमहामन्त्री कोइरालाले लोकतन्त्रमा विचारको भिन्नता स्वाभाविक भएको बताउँदै विचारको भिन्नतालाई विभाजनको आधार होइन, साझा निष्कर्षमा पुग्ने अवसरका रूपमा लिनुपर्ने बताउनुभयों ।
कार्यक्रमलाई नेपाली कांग्रेसका पूर्वप्रवक्ता डा. प्रकाश शरण महत, एनपी साउद, शंकर भण्डारी, नेता मोहनबहादुर बस्नेत, शिवप्रसाद हुँमागाई, गुरु बराल, सुदूरपश्चिम प्रदेश सभापति बिरबहादुर बलायर, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की, जितजंग बस्नेतले पनि सम्बोधन गर्नुभएको थियो ।








