काठमाडौं, १२ साउन । साताको दोस्रो कारोबार दिन मंगलबार नेपालको शेयर बजार ओरालो लागेको छ ।
मंगलबार धितोपत्र बजार परिसूचक ४.६४ अंक घटेर २६९६.६७ विन्दुमा झरेको छ।
यस दिन कारोबार रकम पनि घटेको छ। सोमबार ६ अर्ब ८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय ४२ स्टकको १ करोड ४ लाख २१ हजार कित्ता शेयर खरिदबिक्रीबाट ४ अर्ब ४२ करोड ७३ लाख ५ हजार रुपैयाँबराबरको कारोबार भएको छ।
यस दिन एभरेष्ट कलर लिमिटेडको शेयरको सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ११२ रुपैयाँ ३० पैसा बढेर ८६१ रुपैयाँमा अन्तिम कारोबार भएको हो। त्यस्तै, यस दिन लक्ष्मी उन्नती कोषको इकाई मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ ।
यस दिन शेयर मूल्य बढेका अन्य कम्पनीहरुमा गरिमा समृद्धि योजना, याम्लिड. हाइड्रो पावर, सिटिजन्स म्युचुअल फण्ड, सिर्जनशील लघुवित्त, सानिगाड हाइड्रो, सानिमा लार्ज क्यापिटल फण्ड, सुपर माई र कलिञ्चोक हाइड्रो रहेका छन् ।
कारोबारमा आएको कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ६.०७ प्रतिशत घटेको छ।शेयरको अधिक मूल्य घटेका अन्य कम्पनीहरुमा सिद्धार्थ इक्विटी फण्ड, मेगा म्युचुअल फण्ड, धौलागिरी लघुवित्त, आरबीबी फोकस ४०, एनबीएल डिबेञ्चर ८७, पञ्चकन्या माई हाइड्रो, सनराईज ब्लु चिप, लक्ष्मी भ्यालु फण्ड र इनआईसी फ्लेक्सी क्याप रहेका छन् ।
यस दिन अधिक मूल्यको शेयर कारोबार भएका कम्पनीहरुमा सेन्ट्रल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २७ करोड १४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिडी पावर कम्पनीको २१ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने सोलु हाइड्रोपावरको कारोबार रकम १९ करोड रुपैयाँ नाघेको छ। अन्य कम्पनीहरुमा ग्लोबल आईएमई बैंक,रिलायन्स स्पिनिड. मिल,आँखुखोला जलविद्युत, एनआरएन,कुमारी बैंक लिमिटेड, श्रीनगर एग्रोटेक र कर्पोरेट विकास बैंक रहेका छन् ।
यस दिन नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई वर्गीकृत भएका १३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त, होटल तथा पर्यटन, जलविद्युत र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ भने बाँकी उपसमूहको परिसूचक सामान्य अंकले घटेको छ।








