Prakash Adhikari October 3, 2018

 

काठमाडौं, १८ असोज । विश्व बैंकको सहयोगमा सञ्चालित सडक क्षेत्र विकास आयोजना अन्तरगत खरिद गर्न लागिएका २७ वटा मोडुलर स्टिल ब्रिज(बेलिब्रिज)को आपूर्तिमा गुणस्तरको विषयमा धेरै प्रश्न उठेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानवीनमा हात हालेको छ ।

अख्तियार स्रोतले दिएको जानकारी अनुसार अख्तियारको भाद्र २० को निर्णयानुसार यसको टेण्डरदेखि हालसम्मका कामकारबाहीको कागजातहरु पठाउन संबन्धित विभागीय निकायहरुलाई पत्राचार गरिएको छ । अख्तियारको महाशाखा नं १ ले भदौ २८ मा सडक विभाग विकास सहायता परियोजना कार्यान्वयन महाशाखा ललितपुर र सडक विभागलाई पत्र पठाएको हो ।

अख्तियारले पत्रमा बेलिब्रिज तथा उपकरण खरिदको लागत अनुमान,दररेट,आधार,स्पेसिफिकेशन,संझौता पत्र,परीक्षण प्रतिवेदन, टेण्डरमा सहभागीको सूचि, हालसम्म भएको भुक्तानी , कार्यसम्पादन प्रगति सहितको विवरण खुल्ने कागजातहरु ७ दिनभित्र पठाउन निर्देशन दिएको छ ।

मिति कट्यो,सामान आएन

सडक विभागको एक उच्च स्रोतले दिएको जानकारी अनुसार नदी वा खोलामाथि राखिने यस्ता बेली ब्रिजको आपूर्तिका लागि भएको टेण्डरमा यूरोप र अमेरिकी कम्पनीहरुले पनि ठेक्का हालेका थिए तर राजनीतिक प्रभावमा परेर सडक विभागका सडक क्षेत्र विकास आयोजना कार्यान्वयन महाशाखाका संयोजक संजयकुमार श्रेष्ठले भारतको कोलकोतास्थित टिटागढ वागन लिमिटेडलाई यस कामको जिम्मा दिनुभयो । ठेक्का करिब १ अर्ब रुपैयाको रहेको छ ।

७ अक्टोवर २०१७ मा सो कम्पनी र आयोजनाका बीचमा भएको संझौता अनुसार टेण्डर गरिएका २७ थान बेलिब्रिजहरु छिटोमा १२० दिन र ढिलोमा १५० दिनभित्र विभागले तोकेका स्थानमा आपूर्ति गरिने कुरा उल्लेख छ । यो भनेको ४ देखि ५ महिनाको समय हुन आउछ । तर एक बर्ष पुग्दा पनि सामान आउने कुनै ग्यारेन्टी भएको छैन् ।

विभागका कर्मचारीहरु टिटागढ वागनसंग गुणस्तरीय बेलिब्रिज उत्पादन गर्ने क्षमता नै नभएको बताउछन् । यसैले गुणस्तीय सामान उत्पादन र आपूर्तिमा कम्पनी तर्सिएको बताइन्छ । तर टिटागढ वागनका नेपाली एजेण्टहरुले भने विश्वमा डलरको भाउ बढेको,स्टिलको भाउ बढेको, स्टिलको अभाव भएको जस्ता कृतिम कारण सिर्जना गरेर १० प्रतिशत मूल्य बढाइसकेको र आपूर्तिको समय बढाउन दबाव दिएको बताइन्छ ।

संझौतापत्र अध्ययन गर्दा कम्पनीले फ्रान्सको मितेरी कम्पनीले पश्चिम बंगालको हुग्ली रोड हिन्द मोटर्समा टिटागढ वागनमा आफ्नो उत्पादन कारखानाको लाइसेन्स भएको उल्लेख गरेको छ ।

सामान आपूर्तिपछि समस्या आएमा आफू जिम्मेवार हुने प्रत्याभूति पनि दिएको छ । तर टिटागढ वागनले टेण्डरभर्दा उसको नाम कतै उल्लेख पनि गरेको छैन ।

टिटागढ वागनको ८ जनाको बोर्ड अफ डाइरेक्टरमा मितेरीको एकजना पनि छैन ।

मितेरी आफै जम्मा दुईजना दाजुभाई मार्सेल मितेरी र फिलिप मितेरी बोर्ड अफ डाइरेक्टर रहेको पारिवारिक कम्पनी जस्तो देखिन्छ ।

टिटागढले टेण्डरमा न संयुक्त उपक्रम बनाएको कागजात राखेको छ । न मितेरीको प्लान्टबाट सामान आपूर्ति गर्ने उल्लेख गरेको छ । न उसंग प्राविधिक साझेदारी हुने नै उल्लेख गरेको छ ।

देशभर असर

सडक विभागले जनाए अनुसार यो ठेकका अन्तरगत आउने बेलिब्रिजहरु धनगढी,सुदूर पश्चिम प्रदेशको राजधानी गोदावरी, नेपालगञ्ज, बर्दघाट,धरान,लहान,दमक,पोखरा,दमौली, मुग्लिन,डुम्रे,काठमाडौं,शिवपुर र हेटौडाका कार्यालयहरु अन्तरगत रहने उल्लेख छ । आपूर्तिकर्ताले ती ठाँउहरुमा पुर्याउनुपर्ने उल्लेख छ ।

Share Now

Leave a comment.