काठमाडौं, २१ साउन । पाकिस्तानस्थित ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा ज्यान गुमाएका अनुभवी पर्वतारोही पुरबहादुर गुरुङ (युक्त)को पार्थिव शरीर स्वदेश ल्याइएको छ।
ब्रोड पिकमा गएको हिमपहिरोमा परी निर्मल पुर्जासहित ६ जना नेपाली पर्वतारोही र अन्य गरी कुल १० जनाले ज्यान गुमाएका थिए। तीमध्ये हालसम्म गुरुङको मात्र शव नेपाल ल्याइएको हो।
दशपटक सगरमाथाको सफल आरोहण तथा ८,००० मिटरभन्दा अग्ला हिमाल २८ पटक सफलतापूर्वक आरोहण गरेर कीर्तिमान बनाउनुभएका पर्वतारोही गुरुङ गोरखाको लाप्राक गाउँका बासिन्दा हुनुहुन्थ्यो।
नेपाल पर्वतारोहण संघको कार्यालयमा उहाँको शव श्रद्धाञ्जलीका लागि राखिएको थियो। श्रद्धाञ्जली सभाका क्रममा दिवंगत पर्वतारोही गुरुङको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाइएको थियो भने शोकमा डुबेका परिवारजन र आफन्तहरूले फूल, माला तथा खादा चढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको थियो।








