गण्डकी, २६ साउनः गण्डक क्षेत्रका कास्की, लमजुड., पर्वत, तनहुँ, स्याङ्जालगायत जिल्लामा गुरुङ समुदायको मौलिक पर्व ट्होटेँ पर्व आज हर्षाेउल्लासपूर्वक मनाइँदैछ ।
गुरुङ समुदायमा मौलिक सांस्कृतिक पर्वका रुपमा बर्सेनि साउन र चैतको अन्तिम मङ्गलबार यो पर्व हर्षोल्लासपूर्वक मनाउने चलन छ ।
ट्होटेँका अवसरमा कास्कीको अन्नपूर्ण, मादी, माछापुछ«े गाउँपालिकालगायत स्थानीय तहले आज सार्वजनिक बिदा समेत दिएका छन् । उक्त समुदायले आफ्नो पुस्तैनी पर्वलाई धान्दै आएको छ । परापूर्वकालमा तमु राज्य जोगाउन बैरीलाई सीमा कटाएको सम्झनास्वरुप यस पर्वको सुरुआत भएको मानिन्छ ।
तमु धिँ नेपालका अध्यक्ष हुम गुरुङले पोखरासहित यस क्षेत्रका गुरुङ गाउँबस्तीमा ट्होटेँ पर्व मनाइने गरिएको बताउनुभयो । चैतमा सामूहिक रुपमा र साउनमा गुरुङ गाउँ र समाज घरहरुमा अलगअलग रुपमा ट्होटेँ मनाउने गरिएको उहाँको भनाइ छ । अध्यक्ष गुरुङका अनुसार गुरुङ भाषामा ट्हो भनेको राज्य वा गाउँबस्ती र टेँ भनेको राज्यलाई दुःख दिने शत्रुबैरीलाई सीमा नघाएर राज्य सुरक्षित गरेको अर्थमा लिने गरिएको छ ।
यस पर्वका दिन राति समूहमा बाजागाजा बजाउँदै गाउँ डुल्दा राक्षस र भूतप्रेत भाग्छन् भन्ने किम्बदन्ती छ । ट्होटेँमा आफ्ना पितृको स्मरण सँगसँगै प्रकृतिको पूजाआजा गर्ने चलन रहेको छ । गुरुङ राज्य र गाउँबस्तीमा कसैले आक्रमण नगरोस्, दुःख नदेओस् भनेर परापूर्वकालदेखि ट्होटेँ पर्वको थिती बसेको अध्यक्ष गुरुङले बताउनुभयो । धमु धिँ नेपालको अगुवाईमा यस पर्वलाई विसं २०५२ देखि व्यवस्थित रुपमा मनाउन थालिएको थियो ।
चैतमा मनाइने ट्होटेँमा गुरुङहरु परम्परागत बाजागाजासहित जातिय पहिरनमा सजिएर झाँकीमा सहभागी हुने गर्छन् ।
ट्होटेँमा घाटु, सोरठी, चुट्का, कृष्ण चरित्रलगायत मौलिक संस्कृति प्रर्दशन गरिन्छ । यस पर्वमा गुरुङ जातिले प्रयोग गर्ने पुराना हातहतियार, पोसाक, बाजा, झ्याली, चोपडी, सुलाची, चिम्टालगायतका सामग्री पनि प्रदर्शन गर्ने गरिएको छ ।
साउनमा पर्ने ट्होटेँलाई भने गुरुङ समाजघर र गाउँबस्तीमा परम्परागत रुपमा मनाउने प्रचलन छ । गुरुङ सभ्यता, संस्कृति र पहिचानसँग जोडिएको यस पर्व १५ सय वर्षदेखि अस्तित्वमा रहेको गुरुङ जातिको इतिहासमा उल्लेख छ ।
आदिमकालमा गुरुङहरु गुफा, गोठ हुँदै बस्ती विकासको सभ्यतामा आएपछि यो पर्वको परम्परा सुरु भएको मानिन्छ ।
बस्ती विकास हुँदै तमु राज्य स्थापनाको बेलामा आइपुग्दा ट्होटेँ पर्वले थप व्यापकता पाएको गुरुङ अगुवाहरु बताउँछन् । उनीहरुका भनाइमा गुरुङ जातिका पूर्वजहरुले आफ्नो बस्ती र राज्यमा दुःख दिने शत्रुवैरीलाई धपाउनका लागि तन्त्रमन्त्र गरी यो पर्व मनाउन सुरु गरेका थिए ।
पछिल्लो समय देशमा रहेको बेथिति, बिसङ्गको अन्त्य होस्, मानज जातिको कल्याण होस् भन्ने कामना गरी पर्व मनाउने गरिएको छ । कबिला कालदेखि नै तमु (गुरुङ)का स–साना राज्य रहेको र त्यहाँबाट बैरी धपाउन पूर्वजहरुले ट्होटेँ पर्वको प्रचलन बसेको मान्यता गुरुङ समुदायमा रहिआएको छ । यो पर्व मनाउनाले गाउँलेको भलो हुने खेतीबाले सप्रने, रोगव्याधि हट्ने र प्राकृतिक विपत्ति नआउने जनविश्वास रहेको छ ।
पोखरासहित यस क्षेत्रका एक सय ४८ गुरुङ गाउँ र समाजघरमा ट्होटेँ पर्व मनाउने गरिएको छ । चैतमा उभौली र साउन उधौलीका रुपमा यो पर्वलाई मनाउने गरिन्छ ।
ट्होटेँले सामाजिक एकता र भातृत्वको सन्देश दिने तमु धिँ नेपालका अध्यक्ष गुरुङले बताउनुभयो । विसं २०४२ मा तमु धिँ नेपाल गठन भएपछि पोखरामा गुरुङ संस्कृति र संस्कारको जगेर्नामा यो समुदाय जागरुक बनेको हो ।








