Prakash Adhikari August 13, 2026

काठमाडौं, २८ साउन । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बैंकका अध्यक्ष, सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृत विरुद्ध दायर भएको मुद्दाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै बैंकले प्रचलित कानून, नियामकीय व्यवस्था तथा बैंकिङ्ग मान्यता अनुसार गरिआएको नियमित काम कारवाहीको विषयलाई लिएर बैंकका अध्यक्ष, सञ्चालकहरु तथा प्रमुख कार्यकारी अधिकृत उपर मुद्दा दायर भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

बैंकले विज्ञप्तिमा भनेको छ, “यस घटनाबाट बैंकको नियमित बैंकिङ्ग कारोबार, ग्राहक सेवा तथा दैनिक कार्यसम्पादनमा कुनै पनि अवरोध सिर्जना नभएको एवं बैंकको नेतृत्व तथा व्यवस्थापन यथावत रहि संस्थाको सबलता, समग्र ग्राहकको हित र बैंकिङ्ग प्रणालीको स्थायित्वलाई केन्द्रमा राखी सम्पूर्ण सेवा तथा गतिविधिहरु पूर्ववत् रुपमा नियमित, सुरक्षित र निर्बाध रुपमा सञ्चालन रहनेमा पूर्ण विश्वस्त गराउन चाहन्छौं ।”

बैंकले सरोकारवाल संस्था र आफ्ना ग्राहकहरुमाथि पूर्ण विश्वास र भरोसा कायम राख्दै भनेको छ,”बैंकिङ्ग प्रणालीमा जनताको विश्वास, कर्मचारीको मनोबल र वित्तीय स्थायित्व कायम राख्न सम्बन्धित निकायबाट आवश्यक समन्वय तथा सहयोग गरिदिनुहुन यसै विज्ञप्ती मार्फत हार्दिक अनुरोध गर्दछौं ।”

बैंकले अफवाह तथा भ्रामक कुराहरुमा नपर्न सबैमा अनुरोध गर्दै भनेको छ,”बैंकका सम्बन्धमा आएका अपुष्ट सूचना तथा अनुमानका आधारमा धारणा नबनाई आधिकारिक सूचनालाई मात्र आधार बनाउन अनुरोध गर्दछौं ।”

बैकले आफ्ना समस्त निक्षेपकर्ता, ग्राहकवर्ग, शेयरधनी महानुभावहरु तथा सरोकारवालाबाट प्राप्त हुँदै आएको स‌‌द्भाव र विश्वासप्रति हार्दिक आभार व्यक्त गर्दै निरन्तर सहयोगको अपेक्षा पनि गरेको छ ।

Share Now