Prakash Adhikari September 2, 2026

काठमाडौं, १७ भाद्र । यही भाद्र १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको प्रलयकारी बाढीले रसुवा र नुवाकोटका एक दर्जन जलविद्युत् आयोजना क्षतिग्रस्त बनाएको छ । ती आयोजनाको कुल क्षमता ६ सय ६९ मेगावाट छ।

बाढीबाट प्रभावित मध्ये ८ वटा सञ्चालनमा रहेका र ४ वटा निर्माणाधीन आयोजना हुन् । बाढीका कारण ती आयोजनामा कार्यरत ९ सय ८३ जना अझै सम्पर्कविहीन छन्।

बाढी पछि रसुवाका ६ वटा प्रमुख जलविद्युत् आयोजनाबाट ७ सय १० जना सम्पर्कविहीन बनाएको छ। नुवाकोटतर्फका ६ आयोजनाबाट थप २ सय ७३ जना सम्पर्कविहीन बनाएको छ।

उद्धारका लागि नेपाली सेना, भारतीय र चिनिया उद्धार टोली, प्राविधिक तथा विज्ञहरुको समूह परिचालन भइरहेका छन्। अपेक्षित नतिजा आठौं दिनसम्म पनि निस्केको छैन ।

बाढीका कारण सुरुङभित्र फसेकाहरुको उद्धार कठिन बन्दै गएको छ। सुरुड.मा बाढीले लेदो, र ढुंगामुढा पनि हुलेकोले सुरुङ तथा विद्युतगृहसम्म पहुँच बनाउन उद्धारकर्ताहरुलाई कठिनाई भइरहेको छ।

६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रमा सुरुङभित्र फसेकाहरूको उद्धार मंगलबारसम्म पनि जारी थियो। तर अहिलेसम्म कसैको उद्धार हुन सकेको छैन।

सुरुङभित्र उद्धारकर्ता पठाउन पहुँच निर्माण तथा ड्रिलिङका लागि चार वटा स्काभेटर परिचालन गरिएको छ। सुरुङभित्र जमेको पानी बाहिर निकाल्ने र डेब्रिज हटाउने काम पनि भइरहेको छ।

उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आयोजनाको विद्युतगृह निर्माणमा प्रत्यक्ष संलग्न विज्ञलाई समेत उद्धारमा सहभागी गराउने विषयमा छलफल भइरहेको छ। सुरुङभित्रको पानी बाहिर निकाल्न तथा जमेको डेब्रिज हटाउन विभिन्न प्रविधि प्रयोग गर्ने प्रयास भइरहेको छ।

चिलिमेमा उपकरण लैजानै कठिन

२२ मेगावाटको चिलिमे जलविद्युत् केन्द्रमा पनि विद्युतगृह भित्र फसेकाहरूको उद्धार प्रयास जारी छ।

चिलिमे जलविद्युत् कम्पनीका कार्यकारी निर्देशक बाबुराजा महर्जनका अनुसार भारतीय उद्धार टोली, नेपाली सेना लगायतले विद्युतगृहसम्म पुग्ने बाटो सफा गरेका छन्। तर विद्युतगृहको सुरुङसम्म मेसिनरी तथा आवश्यक उपकरण लैजान नसक्दा उद्धार कार्यले अपेक्षित गति लिन सकेको छैन।

कम्पनी आफैंले पनि उद्धारका लागि पहुँच बनाउने प्रयास गरिरहेको छ। तर मेसिनरी उपकरणबिना विद्युतगृहभित्र पुग्न कठिनाइ भएपछि उद्धारका लागि पुगेको शेर्पाहरूको समूह फर्किएको विवरणमा उल्लेख छ।

रसुवागढीमा ९१ जनाको अवस्था अज्ञात

पोहोरको बाढीले क्षति पुर्याएकोले पुनर्निमार्ण तथा मर्मत हुँदै गरेको १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत ९१ जनाको अवस्था मंगलबारसम्म पनि पत्ता लाग्न सकेको छैन।

सोमबार नेपाली सेनाको नेतृत्वमा टोलीले आयोजनास्थलको स्थलगत अवलोकन गरेको थियो। सुरुङभित्र कोही नरहेको निष्कर्षमा पुगेपछि थप उद्धार कार्य अघि बढाउन कठिन भएको विवरणमा उल्लेख छ।

रसुवागढी हाइड्रोपावर कम्पनीले आवश्यक उपकरणसहित खोजी तथा उद्धार कार्य अघि बढाउने प्रयास गरिरहेको छ। तर तत्काल उद्धारमा अपेक्षित सफलता मिल्न सकेको छैन।

हराइरहेकाहरूको सात दिनसम्म पनि खोजी हुन नसकेपछि उनीहरूका आफन्त आक्रोशित हुन थालेको विवरणमा उल्लेख छ। आयोजनास्थलमा प्रोटोकलबाहेक अन्य व्यक्तिलाई प्रवेश गर्न अनुमति नभएकाले पनि उद्धार तथा राहतमा कठिनाइ भएको जनाइएको छ।

उद्धार कार्यलाई तीव्र बनाउन कम्पनीले मंगलबार स्काभेटर खरिद गरेको र बुधबार रसुवा पुर्‍याएर उद्धार कार्यलाई तीव्र बनाउने तयारी गरेको छ।

लाङटाङ खोलामा ४१ जना सम्पर्कविहीन

२० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा पनि उद्धार तथा खोजीका लागि थप प्राविधिक टोली परिचालन गरिने भएको छ।

बुधबारदेखि १३ जना प्राविधिक तथा विज्ञ आयोजनास्थलमा खटाइने तयारी छ। टोलीले आयोजनास्थलमै बसेर सम्पर्कविहीन व्यक्तिको खोजी तथा उद्धार गर्नेछ।

आयोजनाको पेनस्टकमा कंक्रिटिङका लागि पहुँच सुरुङमा गएका ७ जना सुरुङभित्र फसेको अनुमान गरिएको छ। यस आयोजनाबाट यसअघि नै १९ जनाको उद्धार भइसकेको छ भने ४१ जना सम्पर्कविहीन छन्।

आयोजनाका प्रवर्द्धक विजय मोहनभट्टराईका अनुसार १३ जनाको प्राविधिक तथा विज्ञ टोली परिचालन भएपछि ३ देखि ४ दिनभित्र केही नतिजा देखिने अपेक्षा गरिएको छ।

त्रिशूली–३ ‘बी’मा १ सय ९१ जना सम्पर्कविहीन

निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा सम्पर्कविहीन हुनेको संख्या १ सय ९१ पुगेको छ।

इप्पानको विवरणअनुसार निर्माण कम्पनी, परामर्शदाता तथा प्रवर्द्धक त्रिशूली जलविद्युत् कम्पनीमा कार्यरत व्यक्तिहरू सम्पर्कविहीन छन्। यसमा कम्पनीका कर्मचारी, उनीहरूका परिवारका सदस्य, परामर्शदाता कम्पनीका कर्मचारी, सुरक्षाकर्मी, चिनियाँ नागरिक तथा काठमाडौं विश्वविद्यालयका विद्यार्थीसमेत छन्।

विवरणअनुसार निर्माण कम्पनीका २१ जना कर्मचारी, ७ जना कर्मचारीका परिवारका सदस्य, परामर्शदाता कम्पनीका १२ जना, एक जना सुरक्षा गार्ड तथा चार जना चिनियाँ नागरिकसहित अन्य व्यक्ति सम्पर्कविहीन छन्।

सुरुङभित्र फसेका २३ जना आफैं बाहिर निस्कन सफल भएका छन्। अहिलेसम्म ५ जनाको शव फेला परेको कम्पनीले जनाएको छ।

माथिल्लो त्रिशूली–१ मा मात्रै सयौं सम्पर्कविहीन

प्रभावित आयोजनामध्ये ठूलो क्षमताको २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनामा पनि अवस्था गम्भीर छ।

बाढी आएको दिन आयोजनामा १ हजार ४३३ जना कार्यरत रहेको विवरण छ। त्यसमध्ये उद्धार तथा सम्पर्कमा आएका व्यक्तिको संख्या ८७६ छ। बाँकीको खोजी जारी छ।

कम्पनीका अनुसार आयोजनामा कार्यरत विभिन्न कम्पनी तथा ठेकेदारका ठूलो संख्याका कर्मचारी सम्पर्कविहीन छन्। कम्पनीका १५ जना, ईपीसी निर्माण कम्पनी दुसानका ७८ जना, एन्डिज हाइड्रोका ९४ जना, परामर्शदाता कम्पनीका ७ जना तथा सिभिल सब–कन्ट्र्याक्टर पावर चाइनाका ३८५ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

मंगलबार सुरुङभित्र उद्धार कार्य अघि बढाइएको थियो। अडिट नम्बर ३ र ४ मा कुनै लेदो नभेटिएको तथा अडिट नम्बर १ र २ मा उद्धार गर्न बाँकी रहेको कम्पनीले जनाएको छ।

बुधबार चार वटा टोलीले ड्रोनमार्फत हराइरहेकाहरूको खोजी गर्ने तयारी गरिएको छ। सुरुङ, क्याम्पलगायतका क्षेत्रमा रहेका व्यक्ति पनि सम्पर्कविहीन भएकाले खोजीलाई तीव्र पारिएको छ।

अडिट नम्बर १ मा लेदो पसेर डेब्रिजका कारण सुरुङ पुरिएको छ। यस्तो अवस्थामा उद्धारका लागि अनुभवप्राप्त अन्तर्राष्ट्रिय विज्ञ आवश्यक रहेको कम्पनीले जनाएको छ।

रसुवामा ४ सय ९४ मेगावाटका आयोजना प्रभावित

भोटेकोशी बाढीबाट रसुवामा मात्रै ४ सय ९४ मेगावाट क्षमताका ६ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्।

प्रभावित आयोजनामा माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट), रसुवागढी (१११ मेगावाट), रसुवा–भोटेकोशी (१२० मेगावाट), लाङटाङ खोला (२० मेगावाट), चिलिमे (२२ मेगावाट) र मैलुङ खोला (५ मेगावाट) रहेका छन्।

यी आयोजनाबाट मात्रै ७ सय १० जना सम्पर्कविहीन रहेको इप्पानको विवरणमा उल्लेख छ।

यसमा माथिल्लो त्रिशूली–१, रसुवा–भोटेकोशी र लाङटाङ खोला निर्माणाधीन अवस्थामा छन्। रसुवागढी, चिलिमे र मैलुङ खोला भने सञ्चालनमा रहेका आयोजना हुन्। लाङटाङ खोला परीक्षण चरणमा रहेको विवरणमा उल्लेख छ।

नुवाकोटमा १ सय ७६ मेगावाटका ६ आयोजना प्रभावित

नुवाकोटतर्फ पनि बाढीले जलविद्युत् आयोजनामा ठूलो प्रभाव पारेको छ। इप्पानका अनुसार यहाँ १ सय ७६ मेगावाट क्षमताका ६ वटा आयोजना प्रभावित भएका छन्।

प्रभावित आयोजनामा २४ मेगावाटको त्रिशूली जलविद्युत् आयोजना, १४.१ मेगावाटको देवीघाट जलविद्युत्, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ए, ३७ मेगावाटको माथिल्लो त्रिशूली–३बी, १५.६ मेगावाटको मिडल त्रिशूली गंगा र २५ मेगावाटको सौर्य विद्युत् आयोजना छन्।

यी आयोजनाका कुल २ सय ७३ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

 

Share Now