काठमाडौं, १९ भाद्र । एक्सिट्रम नेपाल भलिबल लिग आजदेखि काठमाडौंमा सुरु हुँदैछ। पुरुष भलिबलको पहिलो फ्रेन्चाइज लिग खेलको उद्घाटनमा सगरमाथा स्म्यासर्स र मधेश वारियर्सबीच भीडन्त भईरहेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज दिउँसो ४ बजे उद्घाटन खेल सुरु भएको छ । आजै साँझ ७ बजे कर्णाली शिवराज र अन्नपूर्णबीच प्रतिस्पर्धा हुनेछ।
पहिलोपटक आयोजना हुन लागेको एनभीएलमा नेपाली भलिबल इतिहासकै सर्वाधिक २० लाख रुपैयाँको विजेता पुरस्कार घोषणा गरिएको छ।
एनभीएलमा कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको छ। एनभीएलका प्रबन्ध निर्देशक अश्विन केडियाका अनुसार बाँकी १२ लाख रुपैयाँ उपविजेता तथा विधागत पुरस्कारमा खर्च गरिनेछ।
एनभीएलको अन्तिम तयारीका क्रममा आयोजकले प्रतियोगिताको मस्कट ‘डाँफे’ र थिम सङ सार्वजनिक गरेको थियो। नेपालको राष्ट्रिय खेल भलिबल र राष्ट्रिय चरा डाँफेलाई आधार बनाएर मस्कट तयार गरिएको हो। थिम सङ अविन शाक्यले कम्पोज गरेका हुन् भने मस्कट रोशन सुब्बाले डिजाइन गरेका हुन्।
भदौ २७ गतेसम्म सञ्चालन हुने एनभीएलमा ६ टोली सहभागी छन्। सबै टोलीले सिंगल राउन्ड रोबिनका आधारमा लिग खेल्नेछन्। लिगको शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्नेछ । दोस्रो र तेस्रो स्थानका टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन्।
उद्घाटन खेलको टिकटबाट उठेको सम्पूर्ण रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिने आयोजक केडिया ग्रुपले जनाएको छ। उद्घाटन खेलको टिकट मूल्य ५ सय रुपैयाँ, अन्य दिनका खेलका लागि ३ सय रुपैयाँ र सिजनल टिकटको मूल्य ३ हजार रुपैयाँ तोकिएको छ।
एनभीएलमा कनेक्टेड बाई एनसेल रहेको छ। यति कार्पेट फ्लोरिङ पार्टनर, वर्ल्डलिंक इन्टरनेट पार्टनर, डीएभी स्कुल एजुकेसन पार्टनर, इन्स्योरेन्स पार्टनर हिमालयन लाइफ इन्स्योरेन्स , टुरिजम पार्टनर नेपाल पर्यटन बोर्ड , रझान्स आयल हेल्थ पार्टनर तथा एक्स–एज डिजिटल पार्टनर रहेका छन्।








