Prakash Adhikari September 25, 2026
पहिरोले काठमाडौं जोड्ने प्रमुख राजमार्गहरु अबरुद्ध भएका छन् । चितवन जिल्ला प्रशासनले दिएको जानकारी अनुसार पहिरोले पृथ्वी राजमार्ग र मुग्लिन नारायणगढ सडक अवरुद्ध । यता मकवानपुर जिल्ला प्रशासनले दिएको जानकारी अनुसार कान्ति राजमार्ग पनि पहिरोले बन्द भएको छ । त्यस्तै राजधानीलाई पूर्वी नेपालसंग जोड्ने वीपी राजमार्ग पनि पहिरोले बन्द भएको छ ।
चितवन, ९ असोजः पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ ।
बिहीबारदेखिको अविरल वर्षाका कारण विभिन्न स्थानमा  खसेको पहिरो र सम्भावित जोखिमलाई दृष्टिगत गर्दै सडक बन्द गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार बिहीबार राति ८ः०० बजेदेखि आज बिहान ५ः०० बजेसम्म ती राजमार्गमा सवारी आवागमन रोकिएकामा निरन्तर वर्षा भएपछि अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको हो ।
पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेकाले चितवन खण्डमा सवारी आवागमन रोकिएको उहाँले जानकारी दिनुभयो । नारायणगढ–मुग्लिन सडक हुँदै दैनिक रुपमा १० हजारभन्दा बढी र पृथ्वी राजमार्ग हुँदै १४ हजारभन्दा बढी सवारीसाधन सञ्चालन हुने गरेका छन् ।
—
पहिरोले बिपी राजमार्ग अवरुद्ध
काभ्रेपलाञ्चोक:  अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान ४ः३० बजे बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–७ स्थित चारसयबेँसी र रोशी–८ गिम्दीमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैबीच, जल तथा मौसम विभागको प्रक्षेपणलाई मध्यनजर गर्दै बिहीबारदेखि रातको समयमा बिपी राजमार्गअन्तर्गत काभे्रपलाञ्चोक सडकखण्डलाई बन्द गराइएको छ ।
जिल्ला प्रशासन कार्यालयले बाढीपहिरोको अवस्था हेरी दिउँसो पनि बन्द गर्नसक्ने जनाएको छ भने हाललाई आइतबारसम्म रातको समयमा सवारी आवागमनमा रोक लगाएको हो ।
कार्यालयको बैठकको निर्णयअनुसार बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा असोज ८ गतेदेखि १२ गते बिहानसम्म साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी आवागमनमा रोक लगाइने भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो ।
वर्षा तथा बाढी, पहिरोको अवस्था मूल्याङ्कन गरी दिउँसोसमेत सवारीसाधन सञ्चालनमा रोक लगाउनुपर्ने अवस्था देखिएमा जिल्ला प्रहरी कार्यालयले आवश्यक निर्णय लिने जनाएको छ ।
उक्त निर्णय कार्यान्वयनमा सहजीकरण गर्न छिमेकी जिल्ला सिन्धुली र भक्तपुरका प्रहरी युनिटलाई अनुरोध गर्ने निर्णय भएको छ ।
बैठकले नदी किनार तथा पहिरोको जोखिममा रहेका बस्तीका नागरिकलाई सम्भावित बाढी तथा पहिरोको जोखिमबारे सचेत गराउने, जोखिमसम्बन्धी सूचना निरन्तर प्रवाह गर्ने तथा स्थानीय सञ्चारमाध्यममार्फत सूचना सम्प्रेषण गर्ने निर्णय गरेको छ । प्रहरीले राजमार्गको अवस्था बुझेर मात्रै दिनमा यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।
पहिरोले कान्ति लोकपथ अवरुद्ध
बागमती: लगातारको वर्षासँगै कान्ति लोकपथका विभिन्न स्थानमा पहिरो खस्दा हेटौँडाबाट उक्त मार्गमा सञ्चालन हुने यातायात सेवा प्रभावित भएको छ ।
कान्ति लोकपथअन्तर्गत ललितपुरतर्फ विभिन्न तीन स्थानमा पहिरो खसेकाले उक्त सडक अवरुद्ध भएको मकवानपुरका प्रहरी प्रमुख श्यामबहादुर खत्रीले राससलाई जानकारी दिनुभयो ।
यसैबीच, कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानीको सतह  सामान्य रहेको जानकारी दिनुभयो ।
Share Now