काठमाडौं, ९ असोज । हाल नेपालमा मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेकाले देशका अधिकांश भूभागमा लगातार वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभावले गर्दा आगामी केही दिन वर्षाको क्रम जारी रहनेछ।
विज्ञहरूका अनुसार अहिले जारी रहेको झरी र भारी वर्षाको प्रभाव आइतबारदेखि भने क्रमिक रूपमा घट्दै जाने र मौसममा सुधार आउने सम्भावना रहेको छ।
मनसुनी रेखा र पश्चिमी वायुको संयुक्त प्रभावका कारण देशका पहाडी तथा हिमाली भू(भागमा साधारणतया बदली हुनुका साथै तराईका धेरैजसो भागमा वर्षा भइरहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
जल तथा मौसमविदहरूका अनुसार आगामी आइतबारदेखि भने यो मौसमी प्रणाली कमजोर हुँदै जानेछ, जसका कारण देशभरको मौसममा क्रमिक सुधार आउने अनुमान गरिएको छ।
लगातारको वर्षाका कारण पहिरो, भूक्षय तथा नदीहरूमा जलसतह बढेर बाढी आउने जोखिम कायमै रहेकाले जोखिमयुक्त क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ। साथै, पहाडी तथा ग्रामीण सडकहरूमा यात्रा गर्दा मौसमको अद्यावधिक जानकारी लिएर मात्र अघि बढ्न र सम्भव भएसम्म रात्रिकालीन यात्रा नगर्न महाशाखा तथा स्थानीय प्रशासनले आग्रह गरेका छन्।








