Prakash Adhikari October 3, 2026

केवलकार(चितवन), १३ असोज । मनकामना पहुँच मार्गको दोस्रो घुम्ती मुनि पहिरो गएपछि मनकामना जाने सडकमा सवारी आवागमन केही प्रभावित भएको छ। यद्यपि, मनकामना मन्दिर दर्शन तथा केबलकार सेवा भने सञ्चालनमा रहेको जनाइएको छ।

पहिरोका कारण सवारी साधनलाई साविकको पार्किङ स्थलसम्म पुग्न रोक लगाइएको छ। पूर्वतर्फबाट आउने यात्रुका लागि राजमार्गको देब्रेतर्फ मुग्लिनतर्फ करिब ७० मिटर अगाडि वैकल्पिक पार्किङको व्यवस्था गरिएको छ। त्यहाँबाट पैदल मार्ग हुँदै अगाडि जान सकिनेछ।

मौसम अनुकूल हुनासाथ सडक मर्मत कार्यलाई तीव्रता दिइने जनाइएको छ। सडकमा समस्या भए पनि भक्तजनले मनकामना पुगेर दर्शन गर्न सक्ने र केबलकार सेवा सुरक्षित रूपमा सञ्चालनमा रहेको व्यवस्थापनले जनाएको छ।

यात्रु तथा भक्तजनलाई आवश्यक सहयोग र समझदारीका लागि अनुरोध गरिएको छ।

झोलुङ्गे पुल भत्किएपछि स्थानीयलाई समस्या

पछिल्लो वर्षासँगैको बाढीले सिलिङटार र चेरेस जोड्ने झोलुङ्गे पुल क्षति भएपछि सहिद लखन गाउँपालिका ३ मनकामना र आसपासका डेढसय घरधुरीका बासिन्दालाई आवतजावतमा समस्यामा परेको छ ।

सहिदलखन गाउँपालिका–३ सिलिङटार र मनकामना केवलकारको तल्लो स्टेशन (चेरेस) जोड्ने झोलुङ्गे पुल क्षतिग्रस्त भएपछि तीनवटा टोलका स्थानीय र तीर्थयात्री मर्कामा परेका वडाध्यक्ष दीपक पाण्डेले जानकारी दिनुभयो । ‘पुल क्षतिग्रस्त भएपछि सिलिङटार, केवरपानी र मनकामना हटियाका स्थानीयवासीलाई राजमार्ग जान समस्या भएको छ । त्यहाँबाट कुरिनटार र मुग्लिनका विद्यालय, कलेज जाने ५० जनाभन्दा धेरै विद्यार्थीहरुलाई पनि समस्या भएको छ । त्यहाँका किसानले उत्पादन गरेको तरकारी बेच्न बजार जान र बजारबाट अत्यावश्यक सामान किन्न जान पनि समस्या भएको छ ।

उहाँले भन्नुभयो, “यहाँ पुल नभएपछि अर्को पुल तर्न डेढदेखि दुई घण्टा घुमेर ठेउवाटार पुग्नुपर्छ ।” यसअघि केवलकार चढ्न नसक्ने वा नचाहने मनकामनाका तीर्थयात्री सो पुल तरेर सिलिङटार पुग्ने र त्यहाँबाट बस, जीप चढेर मन्दिर पुग्ने गर्थे । ‘पुल नभएपछि भक्तजनलाई पनि समस्या भएको छ’, वडाध्यक्ष पाण्डेले भन्नुभयो, “यसपटक त यस्तरी बिग्रियो कि, पुल जीप राख्ने ठाउँसमेत छैन”, यसअघि दुई बर्षअघि पनि सो पुल बाढीले क्षति गरेको थियो ।
–––

Share Now