काठमाडौँ, १५ असोजः नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज हुने भएको छ ।
नेपाली कांग्रेसको संस्थापन पक्षले यही असोज १८ गतेदेखि हुने १५औँ महाधिवेशनको तयारी गरिरहेकैबेला सो पार्टीको इतर समूह देउवा पक्षले पनि समानान्तर अधिवेशन थालेको र यसका लागि आज वडा अधिवेशन गर्ने भएको हो ।
देउवा समूहले पनि १५औँ महाधिवेशन आगामी मङ्सिर २१ देखि २३ गतेका लागि तोेकेको छ । सोहीअनुसार नै यस समूहले यही असोज २० गते पालिका, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय र मङ्सिर ४ गते प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरेर सोको जानकारी निर्वाचन आयोगलाई गराइसकेको छ ।
सो समूहले ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृतसमेत पठाइसकेको जानकारी सो पार्टीका नेता किरणराज पौडेलले दिनुभयो ।
कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको तर्क गर्दै अहिले महाधिवेशन गर्न नहुने माग देउवा पक्षको थियो तर संस्थापन पक्ष भने यही असोज ३ गतेदेखि नै महाधिवेशनमा होमिइसकेकाले इतर पक्षले पनि महाधिवेशनको कार्यतालिका नै तोकेर तयारी थालेको हो ।देउवा पक्षले आजदेखि सुरु गर्न लागेको वडा अधिवेशनका लागि ५६ जिल्लामा निर्वाचन संयोजक पनि खटाइएको जनाएको छ ।
सो समूहको महाधिवेशन आयोजक समितिका संयोजक डा शशाङ्क कोइरालाले वडा तहदेखि नै सङ्गठनलाई बलियो, अनुशासित र जनमुखी बनाउन आवश्यक रहेको बताउँदै नेपाली कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता र क्रियाशील सदस्यहरुलाई उच्च मनोबल, उत्साह र सक्रियताका साथ वडा अधिवेशनमा सहभागी हुन अपिल गर्नुभएको छ ।
देउवा पक्षीय समूह १४औँ महाधिवेशनबाट निर्वाचित भएको कार्यसमिति नै आधिकारिक भएको दाबी गर्दै संस्थापन पक्षले आह्वान गरेको महाधिवेशन प्रक्रियामा सहभागी भएको छैन ।
सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर पक्षको आज हुन लागेको वडा अधिवेशनमा सक्रिय रुपमा सहभागी हुन कांग्रेसका सबै सदस्यहरुलाई अपिल गर्नुभएको छ ।
कांग्रेसको देउवा पक्षीय समूहको १५औँ महाधिवेशनअन्तर्गत आज वडा अधिवेशन हुँदैछ । पूर्वसभापति देउवाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको देशभरका वडाहरूको अधिवेशन आज हुन लागेकाले त्यसमा सहभागिताका लागि अपिल गर्नुभएको हो ।
नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता, विधिको शासनका लागि कांग्रेसले आठ दशकदेखि ठूलो बलिदान र सङ्घर्ष गरेको स्मरण गर्दै पूर्वसभापति देउवाले यसकारण पनि पार्टीको १५औँ महाधिवेशन निकै महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ ।
उहाँले आज जारी गरेको अपिलमा भन्नुभएको छ, “म तमाम नेपाली कांग्रेसका नेता तथा कार्यकर्तामा आजदेखि देशभरका छ हजार ७४३ वडामा एकैसाथ विधि र प्रक्रिया पूरा गरेर सुरु हुन लागेको अधिवेशनमा हर्षोल्लासका साथ सहभागी भएर सम्पन्न गर्नुहुन हार्दिक अनुरोध गर्दछु ।”
कांग्रेस संस्थापन पक्षको महाधिवेशन यही असोज १८ देखि सुरु हुँदैछ भने देउवा संस्थापन इतर पक्षको आगामी मङ्सिर २१ देखि हुने मिति घोषणा गरिएको छ ।