काठमाडौँ, १५ असोजः महिला उद्यमीद्वारा उत्पादित वस्तुको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यका साथ यही असोज १७ गतेदेखि ‘चेम्बर बजार’ सञ्चालन हुने भएको छ ।
नेपाल महिला चेम्बरले महिला उद्यमी तथा व्यवसायीका उत्पादनको बजारीकरण, प्रवर्द्धन र व्यापार विस्तार गर्ने उद्देश्यले चेम्बर भवन जमलमा बजार सञ्चालन गर्न लागेको हो ।
बजारमा खाद्यान्नलगायत लत्ताकपडा, हस्तकलाका सामग्री बिक्रीका लागि राखिने छ । मेलामा साल्ट ट्रेडिङलगायतका स्टल रहनेछन् । बजारमा महिला उद्यमीका उत्पादनसँगै आयात निर्यातजन्य वस्तुको प्रवर्द्धन गरिने छ ।
उद्यम गर्न इच्छुक महिलालाई व्यवसायमा आकर्षित गर्न सरकारी प्रक्रिया तथा व्यवसाय सञ्चालनसम्बन्धी अभिमुखीकरण, सीप तथा तालिम, महिला स्वास्थ्यसम्बन्धी सचेतना तथा निःशुल्क स्वास्थ्य परीक्षणजस्ता कार्यक्रम सञ्चालन हुने नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले बजारलाई केवल व्यापारिक मेलाका रूपमा मात्रै नलिई महिलाको आर्थिक सशक्तीकरण, सीप विकास, बजार पहुँच र व्यावसायिक क्षमता अभिवृद्धिको अभियानका रूपमा सञ्चालन गरिएको उल्लेख गर्नुभयो ।








