Prakash Adhikari October 4, 2026

पर्वत, १८ असोजःबाढीपहिरोबाट जिल्लाका ३०० परिवार विस्थापित भएका छन् । जिल्लाभर १७० घर पूर्ण रूपमा क्षति भएका छन् भने १३१ घरमा आंशिक क्षति भएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सात पालिकामध्ये छ पालिकाका विभिन्न बस्तीमा क्षति भएको हो । सबैभन्दा बढी जलजला गाउँपालिकामा ११३ घरमा धेरै क्षति भएको छ । त्यहाँका ५८ घर पहिरोको जोखिममा छन् । जलजलाका १७१ परिवार विस्थापित भएका छन् ।

कुश्मा नगरपालिकामा दुई, फलेवास नगरपालिकामा २०, बिहादी गाउँपालिकामा नौ, महाशिला गाउँपालिकामा दुई र मोदी गाउँपालिकामा १५ घर पूर्ण रूपमा क्षति भएका छन् । जिल्लाभर १३१ घर आंशिक क्षति भएको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

बाढीपहिरोले पाँच वटा विद्यालय भवन, कृषि फार्म, मन्दिर, स्वास्थ्य र प्रहरी चौकीमा क्षति भएको छ । पर्वत–बागलुङ जोड्ने झोलुङ्गे पुल मध्यपहाडी लोकमार्गको मालढुङ्गा पुलमा पनि क्षति भएको छ । जिल्लाका ग्रामीण सडक अझै अवरुद्ध छन् । कालीगण्डकी लोकमार्गअन्तर्गत फलेवास–बिहादी र लुङ्खुदेउराली–हुवास सडक सञ्चालन गर्न अझै केही दिन लाग्ने उहाँले जानकारी दिनुभयो ।

बाढीपहिरोबाट विस्थापितलाई स्थानीय प्रशासन, स्थानीय निकाय तथा नेपाल रेडक्रस सोसाइटीलगायत विभिन्न सामाजिक सङ्घसंस्थाले त्रिपाल, खाद्यान्न, भाँडावर्तन, ओढ्ने–ओछ्याउने, सरसफाइ र स्वास्थ्य उपचार सामग्री प्रदान गरेका छन् ।

गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति
 गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको बाढी, पहिरो र हुरीले ६३ घरमा क्षति भएको छ ।
गलकोट नगरपालिकाका अनुसार एउटा वडा कार्यालयसहित ६३ घरमा क्षति भएको छ । अन्य १३३ घरमा आंशिक क्षति भएको छ । हुरीले ३९ घर पूर्ण, ५२ घरमा आंशिक क्षति भएको छ ।
यसैगरी, पक्की सिँचाइका २१ संरचनामा धेरै र २४ वटामा सामान्य क्षति भएको छ । कच्ची सिँचाइका २०३ संरचनामा पनि नोक्सानी भएको छ ।
–––

–––

Share Now