Prakash Adhikari October 26, 2018

 

बेइजिङ(चीन), ९ कार्तिक (बीबीसी) । चीनले अमेरिकी राष्ट्रपतिका निजी कलहरू गोप्य रूपमा सुन्ने गरेको वा ट्याप गरेको भन्ने खबरहरूलाई अस्वीकार गर्दै बेइजिङले एक व्यङ्ग्यपूर्ण जवाफ दिएको छ।

उसले राष्ट्रपति ट्रम्पलाई एप्पलको आइफोनको साटो चिनियाँ मोडलको फोन प्रयोग गर्न सल्लाह दिएको छ।

न्यूयोर्क टाइम्स पत्रिकामा प्रकाशित रिपोर्टमा ट्रम्पको विचार बुझ्न उनको निजी आइफोनबाट गरिएका कलहरू चीन र रूसले गोप्य रूपमा सुन्ने गरेको उल्लेख गरिएको थियो।

सो रिपोर्टमा ट्रम्पका सहयोगीहरूले राष्ट्रपतिलाई त्यस्ता कल असुरक्षित भएको भन्दै सजग गराएका थिए।

तर राष्ट्रपति ट्रम्पले भने सो रिपोर्ट अस्वीकार गरेका छन्।

ट्वीट गर्दै आफूले केवल सरकारद्वारा अनुमोदित फोनलाइन मात्र प्रयोग गर्ने गरेको उनले बताए।

व्यङ्ग्यपूर्ण जवाफ

सोही रिपोर्टबारे सोधिएको प्रश्नको चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले बिहीवार व्यङ्ग्यपूर्ण जवाफ दिइन्।

“त्यो रिपोर्ट पढेर मलाई के लागिरहेको छ भने आज अमेरिकामा त्यस्ता मानिस छन् जसले कथा लेखनमा ‌ओस्कार पुरस्कार पाउन खोजिरहेका छन्,” प्रवक्ता ह्वा चुनयीँगको भनाइ।

उनले भनिन्, “यदि उनीहरू एप्पल फोनको सुरक्षालाई लिएर साँच्चिकै चिन्तित छन् भने उनीहरूले ह्वावेइ प्रयोग गर्न सक्छन्।”

ह्वावेइ चिनियाँ मोबाइल कम्पनी हो।

“अझ पनि चिन्ता भए उनीहरूले सबै आधुनिक सञ्चार उपकरण त्यागेर बाहिरी विश्वसँग नाता तोडे पनि हुन्छ।”

रूसले पनि अमेरिकी रिपोर्टमा उल्लेख गरिएका आरोप अस्वीकार गरेको छ।

Share Now

Leave a comment.