काठमाडौं, १८ असोज । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा चितवनका पूर्वपार्टी सभापति विकास कोइरालाले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
चुनावमा दिइएको टिकट खोसेपछि तत्कालीन पार्टी सभापति सुशील कोइरालाविरुद्ध साविक चितवन क्षेत्र ४ बाट उहाँले दोस्रो संविधानसभा चुनावमा बागी उम्मेदवारी दिनुभएको थियो ।
केन्द्रीय पार्टी सभापतिविरुद्ध बागी उम्मेदवार बनेपछि २ कात्तिक २०७० सालमा पार्टीले उहाँको क्रियाशील सदस्यता समेत खोसेको थियो ।
कारबाहीमा परे पनि उहाँ अन्य दलमा प्रवेश नगरी पार्टीभित्रै अन्तरसंघर्ष गरेर बसिरहनुभएको छ ।
उहाँ १२औं महाधिवेशनबाट जिल्ला सभापतिमा निर्वाचित हुनुभएको थियो । २०६७–२०६९ सालमा उहाँ चितवन कांग्रेसको सभापति रहनुभयो ।
कांग्रेसलाई पुरानै शैलीको गुटबन्दीबाट होइन, नयाँ सोच, नयाँ पुस्ता र रूपान्तरणको बाटोबाट अघि बढाउने उद्देश्यसहित आफूले उम्मेदवारी दिएको कोइरालाले बताउनुभएको छ।
पार्टीभित्र पुस्तान्तरण, रूपान्तरण र नयाँ राजनीतिक संस्कारका लागि आफूले विद्रोह गरेको उहाँको कथन छ ।








