- कशेला स्मिथ
लण्डन(संयुक्त अधिराज्य), १९ असोज(बीबीसी) । ब्रिटेनमा प्रतिआतङ्कवाद प्रहरीले गरिरहेको एउटा अनुसन्धानको केन्द्रमा रहेको आरएएफ फेअरफर्ड हवाई अखडाबाट संयुक्त राज्य अमेरिकाले आफ्ना सबै बमवर्षक विमानहरू फिर्ता लगेको छ।
सबै बमवर्षक विमानहरूलाई ब्रिटिश हवाई अखडाबाट अमेरिका पुर्याइएको विदेश मन्त्रालयका एक अधिकारीले आइतवार एउटा वक्तव्यमार्फत् पुष्टि गरेका हुन्।
अमेरिकाले बमवर्षक विमानहरू फिर्ता लग्नुको कारणबारे केही बताएको छैन। तर गत सेप्टेम्बर २७ तारिखमा ग्लोस्टर्शरस्थित विमानस्थलनजिकै तीनवटा शङ्काकास्पद गाडीहरूबारे प्रहरीलाई सजग गराइएको एउटा ठूलो घटनापछि पछिल्लो कदम चालिएको छ।
सुरुमा पाँच जनालाई हवाई अखडानजिकै आतङ्कवादी गतिविधि गरेको आशङ्कामा पक्राउ गरिएको थियो। तर पछि उनीहरूलाई जमानतमा रिहा भए। त्यसपछि पक्राउ परेका ब्रिटिश(इरानी नागरिक पनि पक्राउ जमानतमा रिहा भए।
ह्वाइटहल स्रोतहरूले वाशिङ्टनको निर्णय आरएएफ फेअरफर्डमा भएको घटनाको प्रतिक्रियास्वरूप आएको कुरा अस्वीकार गरेका छैनन्।
सैनिक निर्णय
बीबीसीलाई पनि त्यो राजनीतिक नभई एउटा सैन्य निर्णय भएको बताइएको छ। अपरेशनल लेभलमा त्यो निर्णय लिइएको थियो र अमेरिकी सेनाले ब्रिटिश समकक्षीहरूलाई त्यसबारे जानकारी गराएका बताइएको छ।
ब्रिटिश रक्षा मन्त्रालयले त्यसबारे कुनै प्रतिक्रिया दिएको छैन। घटनाको केही दिनपछि यूकेका प्रधानमन्त्री एन्डी बर्नमले त्यसमा इरानको भूमिका रहेको बलियो सङ्केत पाइएको बताए पनि त्यसबारे थप विवरण खुलाउनुभएको छैन।
तेहरानले घटनामा कुनै खालको आफ्नो संलग्नतालाई सशक्त रूपमा अस्वीकार गरेको छ।
सुरुमा अमेरिकी वायुसेना (यूएसएएफ) द्वारा सञ्चालित हवाई अखडातर्फ गाडीहरू गइरहेको सूचना पाएपछि बिहान सबेरै २३ देखि २५ वर्ष उमेरका पाँच पुरुषलाई पक्राउ गरिएको थियो। पाँचै जना लन्डनमा बस्ने ब्रिटिश नागरिक थिए।
उनीहरूलाई विस्फोटक पदार्थसँग सम्बन्धित अपराधको आशङ्कामा र पछि आतङ्कवादी कार्यको तयारी गरेको आशङ्कामा पक्राउ गरिएको थियो।
प्रहरीले पछि उनीहरूलाई जमानतमा रिहा गर्दै गिरफ्तारीलाई अनुभव र रणनीतिमा आधारित अनुसन्धान निर्णय भनी व्याख्या गरेको थियो।
आतङ्ककारी कार्यको तयारी गरेको आशङ्कामा २५ वर्षीय छैटौँ व्यक्तिलाई बिहीवार लन्डनमा पक्राउ गरिएको थियो। प्रतिआतङ्कवाद प्रहरीले उनी पनि जमानतमा रिहा भएका शनिवार पुष्टि गरेको थियो।
दशकौँदेखि प्रयोग
अमेरिकी वायुसेनाले आरएएफ अखडालाई फोर्वर्ड अपरेटिङ लोकेशनका रूपमा रूपमा दशकौँदेखि प्रयोग गरिआएको छ।
हालैका महिनाहरूमा ब्रिटेनले इरानविरुद्ध रक्षात्मक आक्रमण थाल्न हवाई अखडा प्रयोग गर्ने अमेरिकी अनुरोधलाई अनुमोदन गरेपछि अमेरिकी बमवर्षक विमानहरूले त्यहाँबाट मध्यपूर्वका लागि उडान गरिरहेका छन्।
इरानले इरानी क्षेत्रविरुद्ध आक्रमणका लागि प्रयोग गरिने कुनै पनि अखडा उसको सेनाका लागि वैध लक्ष्य हुने गत जुलाईमा चेतावनी दिएको थियो।
घटनाको केही दिनपछि र छैटौँ व्यक्तिलाई पक्राउ गर्नुअघि अमेरिकी विदेशमन्त्री मार्को रुबिओले स्पष्ट रूपमा विदेशी हात रहेको फक्स न्यूजसँग भन्नुभएको थियो।
उहाँले त्यसबारे विस्तृत विवरण खुलाउनुभएन। त्यस बेला उहाँले प्रसारणका बेला सीमित जानकारी मात्र दिन सकिने बताउनुभएको थियो।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यूकेमा पाँच जनालाई जमानतमा रिहा गरिएकोमा आफू छक्क परेको बताउनुभएको थियो।
‘हामीलाई उनीहरूबारे सबै कुरा थाहा छ, हामीले उनीहरूलाई रिहा गर्ने थिएनौँ’, ट्रम्पले भन्नुभयो। ब्रिटेनले सो मामिलामा अमेरिकासँग धेरै नजिक रही काम गरेको पनि उहाँले बताउनुभयो।








