Prakash Adhikari October 12, 2026

ललितपुर, २५ असोजः नेपाली कांग्रेसको खुलातर्फको उपसभापतिमा डा चन्द्रकान्त भण्डारी र मधु आचार्य विजयी हुनुभएको छ । यस्तै, समावेशी उपसभापतिमा विनोदकुमार चौधरी निर्वाचित हुनुभएको छ ।

उपसभापतिको खुला प्रतिस्पर्धामा डा भण्डारीले तीन हजार ७३५ मत र आचार्यले दुई हजार ३४२ मत प्राप्त गर्नुभएको छ । उपसभापतिका उम्मेदवारमध्ये गोविन्द भट्टराईले एक हजार ७५२, सुरेन्द्रराज पाण्डेले एक हजार ६७३, धनराज गुरुङले एक हजार ५९६, दीपक गिरीले ९२३ र प्रा डा चन्द्रमोहन यादवले ७६० मत प्राप्त गर्नुभएको छ ।

समावेशी उपसभापतिमा विजयी चौधरीले एक हजार ७४५ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी जीवन परियारले एक हजार ६५८, फरमुल्लाह मन्सुरले एक हजार १४४, सीता गुरुङले एक हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, महामन्त्रीमा प्रदीप पौडेल र उदयशम्शेर राणा विजयी हुनुभएको छ । पौडेलले चार हजार १९४ मत प्राप्त गर्नुभएको छ । यस्तै, राणाले दुई हजार ३३० मत पाउनुभएको छ । महामन्त्रीका उम्मेदवारमध्ये डा सुनिलकुमार शर्माले दुई हजार २५७, गुरुराज घिमिरेले एक हजार ५१३, नैनसिंह महरले एक हजार १३४, अमरसिंह पुन मगरले एक हजार १२५, शङ्कर तिवारीले १२३ र डा सन्तोष उपाध्यायले ९७ मत प्राप्त गर्नुभएको छ ।

महामन्त्री महिलातर्फ डा डिला सङ्ग्रौला (पन्त) विजयी हुनुभएको छ । उहाँले तीन हजार ११८ मत प्राप्त गर्नुभएको छ भने महालक्ष्मी उपाध्याय (डिना)ले दुई हजार ८६४ र रीता खनालले ८०४ मत प्राप्त गर्नुभएको निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिनुभयो ।

Share Now