काठमाडौं, ३० असोज । आइएमई खल्ती लिमिटेडले नेपाल फिनटेक एक्स्पो २०२६ मा आफ्ना विभिन्न डिजिटल वित्तीय सेवा तथा प्रविधिमा आधारित ६ नयाँ उत्पादन सार्वजनिक गरेको छ।
फिनटेक एलायन्स नेपालद्वारा आयोजित तीन दिने एक्स्पोमा खल्तीले प्रयोगकर्ताको बदलिँदो आवश्यकता र डिजिटल जीवनशैलीलाई लक्षित गर्दै नयाँ उत्पादन सार्वजनिक गरेको हो।
एक्स्पोको पहिलो दिन खल्तीले खल्ती कार्ड्स, ई-सिम तथा पर्सनल फाइनान्स च्यालेन्ज सार्वजनिक गरेको थियो। त्यसैगरी, तेस्रो दिन खल्ती प्रो, स्ट्राइप तथा खल्ती स्टक हब सार्वजनिक गर्दै कम्पनीले आफ्नो सेवा विस्तार गरेको हो।
यी उत्पादनमार्फत डिजिटल भुक्तानी, डिजिटल कनेक्टिभिटी, व्यक्तिगत वित्त व्यवस्थापन तथा लगानीसम्बन्धी सेवाहरूलाई थप सहज र प्रयोगकर्तामैत्री बनाउने कम्पनीको लक्ष्य रहेको जनाइएको छ। एक्स्पो अवधिभर खल्तीको स्टलमा सयौँ प्रयोगकर्ताले भ्रमण गरी विभिन्न उत्पादन तथा सेवाबारे जानकारी लिएका थिए। कम्पनीका प्रतिनिधिहरूले प्रयोगकर्तालाई सेवाका विशेषता, प्रयोग गर्ने तरिका तथा उपलब्ध सुविधाबारे जानकारी गराएका थिए।
प्रयोगकर्ताको सहभागिता बढाउन खल्तीले एक्स्पो अवधिभर विभिन्न सेवामा क्यासब्याक, प्रोमो कोड तथा अन्य अफरसमेत उपलब्ध गराएको थियो। स्मार्ट डिपोजिट, कार्ड्स, एआई फिएस्ता, इन्स्योरेन्स, फ्लाइट्स, मोबाइल टपअप, डाटा प्याक, टिभी तथा इन्टरनेट सेवा प्रदायक (आईएसपी) सम्बन्धी सेवामा उपलब्ध अफरले प्रयोगकर्तालाई विभिन्न डिजिटल सेवा अनुभव गर्ने अवसर दिएको कम्पनीले जनाएको छ।
एक्स्पोमा सहभागी प्रयोगकर्ताले विशेषगरी खल्ती कार्ड्स, स्ट्राइप तथा पर्सनल फाइनान्स च्यालेन्जप्रति चासो देखाएका थिए। डिजिटल भुक्तानीलाई सहज बनाउने, व्यक्तिगत वित्त व्यवस्थापनमा सकारात्मक बानी विकास गर्न प्रोत्साहित गर्ने तथा प्रविधिमा आधारित सेवा उपलब्ध गराउने कम्पनीको प्रयासप्रति प्रयोगकर्ताले उत्साह देखाएको खल्तीले जनाएको छ।







