पोखरा(कास्की),११ कार्तिक । पोखरा प्रिमियर लिग क्रिकेट अन्तर्गत भैरहेको तेस्रो दिनको पहिलो खेलमा धनगढी ब्लुजले विराटनगर टाईटान्सलाई १ सय ८३ रनको लक्ष्य दिएको छ ।
पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले २० ओभरमा १ सय ८२ रनमा बनाएको हो । टिमको स्कोर ८ रन हुँदा पहिलो विकेट गुमाएको धनगढीले १३ रनमा दोस्रो विकेट गुमायो ।ओपनर सन्दिप सुनार ९ तथा डेन लरेन्स २ रनमा आउट भए ।
त्यसको लगत्तै दिलिप नाथपनि ८ रनमा आउट भएपछि धनगढीले ३८ रनमा तेस्रो विकेट गुमाइसकेको थियो ।
त्यसपछि दिपेन्द्र ऐरी र विदेशी खेलाडी पिटर ट्रेगोले मैदानमा आए । चौथो विकेटका लागि ६० रनको साझेदारी गर्दै दुवैले पारीलाई सम्हाले । दिपेन्द्र २९ रनमा आउट भएपछि धनगढीले ९८ रनमा चौथो विकेट गुमाउन पुगेको थियो ।
तर त्यसपछि सस्तैमा दुई विकेट गुमाउदा धनगढीले १ सय २३ रनमा ६ विकेट गुमायो । सन्दिप जोरा १२ रनमा आउट भए भने मन्जित श्रेष्ठ १ रनमा पेभेलियन फर्किए ।
धनगढीका लागि पिटरले ५३ रनको योगदान गरे । अन्तिममा सौरभ खनालले ४१ रन बनाए । उनले १२ बलमा दुई चौका र ५ छक्का प्रहार गरे ।
बलिङ तर्फ विराटनगर टाइटान्सका जितेन्द्र मुखियाले ४ विकेट लिए ।