काठमाडौँ, ७ कात्तिक । दक्षिण अफ्रिकाका क्रिकेटर डेविड मिलर नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली याक्समा आबद्ध भएका छन् । कर्णालीले आज उनलाई टोलीमा भित्र्याएको औपचारिक जानकारी दिएको हो ।
मिलरले सन् २०१० मा दक्षिण अफ्रिकाका लागि अन्तरराष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए । उनले एकदिवसीय र टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गर्दै आएका छन् । अन्तरराष्ट्रिय टी–२० क्रिकेटमा उनले २ हजार ८ सय ४ रन बनाएका छन् । यस प्रारूपमा उनको ब्याटिङ औसत ३३.७८ र स्ट्राइक रेट १४१।४० रहेको छ ।
मिलरले सन् २०१७ मा बङ्गलादेशविरुद्ध ३५ बलमै शतक प्रहार गरेका थिए । इण्डियन प्रिमियर लिग (आइपीएल) मा गुजरात टाइटन्स, राजस्थान रोयल्स, पञ्जाब किङ्स र दिल्ली क्यापिटल्सलगायतका टोलीबाट खेलिसकेका मिलरले विश्वका अन्य टी–२० लिगको अनुभव पनि बटुलिसकेका छन् ।
सन् २०२४ को पुरुष टी–२० विश्वकपको फाइनलसम्म पुगेको दक्षिण अफ्रिकी टोलीका सदस्यसमेत रहेका उनले महत्त्वपूर्ण खेलमा आफ्नो अनुभव र क्षमता प्रदर्शन गरेका थिए । मिलरले हालसम्म १८० एकदिवसीय र १४० टी–२० अन्तरराष्ट्रिय खेले खेलेका छन् । उनले विभिन्न १३ वटा व्यावसायिक लिग खेलिसकेका छन् ।
कर्णाली याक्सले यस शृंखलाका लागि पाकिस्तानका टी–२० टोलीका कप्तान साहिबजादा फरहान, पाकिस्तानी अलराउन्डर हुसेन तलत तथा बङ्गलादेशका अकबर अली र अरिफुल इस्लामलाई पनि अनुबन्ध गरिसकेको छ ।
एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि आयोजना हुँदैछ ।
बङ्गलादेशका शमीम हुसेन लुम्बिनी लायन्समा आबद्ध
बङ्गलादेशका क्रिकेटर शमीम हुसेन पटवारीले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण लुम्बिनी लायन्सबाट खेल्ने भएका छन् ।
लुम्बिनीले आज उनलाई अनुबन्ध गरेको जानकारी दिएको हो । लुम्बिनीले फेसबुक पेजमा लेखेको छ, “शमीम हुसेन आधिकारिकरूपमा लायन्स टोलीका सदस्य बनेका छन् । अब मैदानमा आफ्नो खेलमार्फत जवाफ दिने समय आएको छ ।”
बायाँहाते ब्याटिङ र अफ स्पिन बलिङ गर्ने उनी आक्रामक खेलशैली तथा चुस्त फिल्डिङका लागि परिचित छन् । शमीम यु–१९ क्रिकेटदेखि नै सफलता हासिल गर्ने खेलाडी हुन् । सन् २०२० मा दक्षिण अफ्रिकामा भएको आइसिसी यु–१९ विश्वकपको उपाधि जित्दा उनी बङ्गलादेशको टोलीमा थिए ।
विश्वकप जितेपछि उनले राष्ट्रिय टोलीमा पनि स्थान बनाउने अवसर पाए । शमीमले सन् २०२१ को जुलाईमा जिम्बाब्वेविरुद्ध टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए । सोही वर्ष उनी टी–२० विश्वकप खेल्ने बङ्गलादेशी टोलीमा पनि समावेश भएका थिए ।
शमीमले सन् २०२३ मा अफगानिस्तानविरुद्धको खेलबाट एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा समेत पदार्पण गरे । बङ्गलादेश प्रिमियर लिग (बिपिएल) मा चटगाउँ च्यालेन्जर्स, रङ्गपुर राइडर्स र चटगाउँ किङ्सलगायत टोलीबाट खेलेका शमीमले सन् २०२४–२५ को संस्करणमा चटगाउँ किङ्सबाट ३५२ रन बनाएका थिए ।
उनले हालसम्म विदेशी लिग भने खेलेका छैनन् । शमीम अब एनपिएलमार्फत त्यो उपलब्धि पनि हासिल गर्ने तयारीमा छन् ।
एनपिएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि सुरु हुँदैछ ।







