Prakash Adhikari October 28, 2018

बैंकक (थाइल्याण्ड), ११ कात्तिक । एएफसी यु–१९ च्याम्पियनसिप छनोट अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले पाकिस्तानमाथि सानदार जीत निकालेको छ।

थाइल्याण्डस्थित चोनबुरी रंगशालामा भएको खेलमा नेपालले पाकिस्तानलाई ९-० ले स्तब्ध बनाएको हो। नेपालले पाकिस्तानविरुद्ध सुरुवातबाटै दबाब बनायो।

नेपालको लागि मञ्जलीकुमारी योञ्जनले दोस्रो मिनेटमै गोल गरिन्। ३१औँ मिनेटमा सम्झना लावतीले नेपालको अग्रता दोब्बर पारिन्। मञ्जलीको क्रसमा उनले ६ यार्ड बक्सभित्रबाट गोल सम्भव बनाइन्। अलिसा जिम्बाले ३७औँ मिनेटमा क्रसबाट आएको बललाई पेनाल्टी क्षेत्रभित्रबाट पोस्टको दिशा दिँदै खेलमा ३-० सहज अग्रता दिलाइन्।

पहिलो हाफमा नै फराकिलो अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप गोल वर्षा गर्‍यो। ४८औँ मिनेटमा सम्झना लावतीको क्रसमा पूजा रानाले हेडमार्फत् चौँथो गोल गरिन्। त्यसको केही मिनेटमै पूजाले अर्को गोल थपिन्। पाकिस्तानी डिफेन्डरको मिस पासलाई कन्ट्रोल गर्दै उनले सहज गोल गरेकी हुन्।

५७औँ मिनेटमा निशा थोकरले अर्को गोल थपिन्। उनले बायाँ विङबाट गरेको फ्रिकिक प्रहार सिधै गोलमा परिणत भएको थियो। ७४औं मिनेटमा निशाले पेनाल्टीबाट गोल गर्दै नेपाललाई ७-० को अग्रता दिलाइन्। निशाले नै ८५औँ मिनेटमा गोल गर्दै नेपालको अग्रता बढाइन्। कप्तान सरु लिम्बूले ८९औँ मिनेटमा गोल गरेपछि नेपाल ९–० को फराकिलो अवस्थामा पुग्यो।

नेपालले गोलका थप राम्रा मौका बनाए पनि धेरै प्रहार गोल गर्न असफल भयो। नेपालका लागि प्रभावशाली फरवार्ड रेखा पौडेल पाकिस्तानविरुद्ध खेलेकी नहुँदा पाकिस्तानलाई केहि राहत भएको थियो तर भारी मात्रामा गोल खानबाट बच्न भने सकेन्।

जीतसँगै नेपाल एएफसी यु–१९ च्याम्पियनसिपको अर्को चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ। समूहको अर्को खेलमा थाइल्याण्डले भारतलाई पराजित गरेमा नेपाल समूहको दोस्रो स्थानमा रहेर अन्तिम चरणमा छनोट हुनेछ। प्रतियोगिताको आयोजकका नातालो थाइल्यान्ड अघिल्लो चरणका लागि छनोट भइसकेकाले पनि नेपालका लागि राम्रो मौकाको रूपमा यो प्रतियोगितालाई लिएको छ।

Share Now

Leave a comment.