काठमाडौं, १२ कार्तिक। नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज हुँदैछ।
केन्द्रीय निर्वाचन समितिका अनुसार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे शपथ ग्रहण कार्यक्रम तय गरिएको छ।
केन्द्रीय निर्वाचन समितिले गत सोमबार नै सूचना जारी गरी निर्वाचित सबै पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण समारोहमा उपस्थित हुन निर्देशन दिएको थियो।
असोज १८ देखि २३ गतेसम्म काठमाडौँको खुलामञ्चमा सम्पन्न १५औं महाधिवेशनमार्फत गगन कुमार थापाको नेतृत्वमा २ सय ३१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको थियो। नवनिर्वाचित सभापति गगन कुमार थापाले भने दसैँको फूलपातीका दिन (असोज ३१ गते) शपथ ग्रहण गरेर पदबहाली गरिसक्नुभएको छ ।
महाधिवेशनबाट वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापतिमा पुष्पा भुसाल र खुल्लातर्फ डा। चन्द्र भण्डारी, मधुप्रसाद आचार्य तथा समावेशीतर्फ विनोद चौधरी उपसभापतिमा निर्वाचित हुनुभएको छ। यस्तै महामन्त्रीमा प्रदीप पौडेल, उदयसमशेर राणा र डा. डिला सङ्ग्रौला चुनिनुभएको छ।
नेपाली कांग्रेसको विधानअनुसार २ सय ९७ सदस्यीय केन्द्रीय कार्यसमिति रहने व्यवस्था छ, जसमा ६६ जना सदस्य सभापतिले मनोनीत गर्ने प्रावधान छ।
बाँकी सदस्यहरूको मनोनयन तथा आगामी कार्यदिशा तय गर्न आजै शपथ ग्रहणलगत्तै सानेपामै केन्द्रीय समितिको बैठक बस्ने तयारीसमेत गरिएको छ।







