Prakash Adhikari October 29, 2026
जेरुसेलम, १२ कात्तिक (रासस/एएनआई) इजरायलमा निर्वाचनपछि सरकार गठनका लागि बहुमत जुटाउने प्रयास भइरहेका बेला अरब दलहरूले विपक्षी समूहसँग सहकार्य गर्ने सङ्केत दिएका छन् । यहुदी र अरब समुदायको साझेदारीमा नयाँ सरकार बनाउन पनि दबाब बढेको छ ।
प्रारम्भिक अनुमानअनुसार प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले २६ सिट जित्ने देखिएको छ । उहाँको गठबन्धनले ५३ सिट पाउने अनुमान छ, जुन बहुमतका लागि आवश्यक ६१ सिटभन्दा कम हो । विपक्षी दलहरूले ४८ र अरब दलहरूले १९ सिट जित्ने अनुमान गरिएको छ । अहिले निर्वाचन आयोगले सैनिक, कैदी, स्वास्थ्यकर्मीलगायतका मतदाताको ‘दोहोरो खाम’ मा रहेका मतपत्र गणना गरिरहेको छ ।
बुधबार राति डेमोक्रेट्स पार्टीको नेतृत्वमा प्रदर्शनकारीहरूले यहुदी–अरब संयुक्त सरकार गठन गर्न माग गरेका थिए । पार्टीले समानता, न्याय र शान्तिमा आधारित भविष्यका लागि अरब दलसँग सहकार्य गर्न विपक्षी नेताहरूलाई आह्वान गरेको छ ।
डेमोक्रेट्सका नेता यायर गोलानले परिवर्तनको सरकार गठन गर्न विपक्षी समूहसँग बहुमत रहेको दाबी गर्दै अरब दलसँग वार्ता गर्न आग्रह गर्नुभएको छ । उहाँले त्यसका लागि साहसी नेतृत्व आवश्यक रहेको बताउनुभयो ।
अरब दलहरूको संयुक्त सूचीले पनि नेतान्याहुको सरकारको विकल्प बनाउन राजनीतिक सहकार्य गर्न तयार रहेको जनाएको छ । उसले अरब समुदायको अधिकारको मान्यता, विभेदकारी नीतिमा परिवर्तन र समानतामा आधारित साझेदारीको माग गरेको छ ।
विपक्षी नेता गदी आइसेनकोटले प्यालेस्टाइनसम्बन्धी नीति र इरानविरुद्धको कारबाहीजस्ता विषयमा सहमति जुटाउन चुनौती रहे पनि नयाँ सरकार गठनको प्रयास जारी राख्नुभएको छ । उहाँले वर्तमान सरकारप्रति जनताको अविश्वास बढेको दाबी गर्नुभयो ।
राष्ट्रपति आइज्याक हर्जोगले राजनीतिक दलहरूलाई पुनः निर्वाचनको सम्भावना टार्न आग्रह गर्नुभएको छ । नेतान्याहुलाई सत्ताबाट बाहिर राख्ने विषयमा विपक्षी दलहरूबीच सहकार्यको सम्भावना रहे पनि नीतिगत मतभेद समाधान गर्नु चुनौतीपूर्ण देखिएको छ । नेतान्याहुले पनि नयाँ राजनीतिक समीकरण बनाएर सरकार गठन गर्ने सम्भावना कायमै छ ।
Share Now