बाजुरा, १४ कात्तिकः धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा पुगेका दुई जना पर्यटक सम्पर्कविहीन भएका छन् । बडीमालिका माताको दर्शन तथा घुम्न पुगेका दुई जना पर्यटक वर्षासहित भारी हिमपातपछि सम्पर्कविहीन भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर कार्की सम्पर्कविहीन भएका हुन् । यही कात्तिक ९ गते सदरमुकाम मार्तडीबाट पाँच जनाको टोली बडीमालिका प्रस्थान गरेकामा तीन जना भने बडीमालिका पुगेर फर्किसकेका उहाँले बताउनुभयो ।
चार हजार दुई मिटर उचाइमा अवस्थित बडीमालिका भगवती मन्दिरमा दर्शन गरेर फर्कने क्रममा शुक्रबार मनिष बोहरा सम्पर्कविहीन रहेकामा गए रातिदेखि सागर कार्कीसँग पनि सम्पर्क हुन नसकेको सूचना अधिकारी शाहीले जानकारी दिनुभयो । “हिजो सागरसँग फोन सम्पर्क गर्दा बडीमालिकाबाट फर्किने क्रममा साथी हरायो, म त्रिवेणी पाटनमा छु भन्दै हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो, “उहाँहरू सो क्षेत्रमा भारी हिमपातका कारण अलपत्र पर्नुभएको हुनसक्छ ।”
सूचना अधिकारी शाहीले त्यहाँ पुगेका मनिष हिमपातपछि हराएका र भारी हिउँ पर्दा तल झर्न नसक्दा सागर पनि अलपत्र परेका हुनसक्ने बताउनुभयो । दुवै जनाको मोबाइल बन्द भएको सङ्केत आइरहेकाले उद्धार टोली त्यसतर्फ खोजीका लागि पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।
जिल्लामा शुक्रबारदेखि भएको वर्षाका कारण बडीमालिकासहित उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा उद्धार गर्न कठिनाइ भएको जनाउँदै सूचना अधिकारी शाहीले मार्तडीबाट प्रहरीको टोली खटाउने तयारी भइरहेको उल्लेख गर्नुभयो ।
मुगुमा भारी वर्षा, चिसो बढ्दा जनजीवन कष्टकर
मुगुमा शुक्रबार साँझदेखि परेको वर्षासँगै हिमपात भइरहेकाले अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित बन्दै गएको छ । गमगढी हावापानी मापन केन्द्रका अनुसार शुक्रबार बिहान ८ः४५ बजेदेखि २४ घण्टाको अवधिमा मुगुमा ३९.८ मिलिमिटर वर्षा भएको छ ।
आज बिहान ८ः४५ बजेसम्म गमगढी बजारको अधिकतम तापक्रम ९.२ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन गरिएको केन्द्रका अवलोकनकर्ता नम्रता मल्लले जानकारी दिनुभयो । मौसममा आएको परिवर्तनसँगै तापक्रम घटेपछि सर्वसाधारणका साथै बालबालिका, वृद्धवृद्धा तथा बिरामी बढी प्रभावित भएका उहाँको भनाइ छ ।
निरन्तर वर्षाका कारण जिल्लाको हवाई सेवा तथा सडक मार्गसमेत प्रभावित भएका मल्लले बताउनुभयो । वर्षाका कारण बजार तथा ग्रामीण बस्तीमा चहलपहल घटेको छ । हिमपातले मुगुम कार्मारोङ गाउँपालिकामा पर्ने डोल्फु, मुगु, ताखा, खारी, दाउरा, पुअ, सेरोग, किम्ग्री मह, माङ्री, पाँपु, चिमात गाउँ बढी प्रभावित भएका छन् । यी क्षेत्रमा बढी हिउँ र पानी परेकाले अत्यधिक चिसो बढेको केन्द्रका अवलोकनकर्ता मल्लले बताउनुभयो ।
हिमपात र वर्षाले एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्न, बस्तुभाउ चराउन समस्या भइरहेको स्थानीय फुर्वा फुटिक लामाले बताउनुभयो । मुगुका अग्ला हिमाल, बस्तीहरूमा हिउँ परेको छ भने होचो स्थानमा शुक्रबार साँझदेखि वर्षा भइरहेको केन्द्रले जनाएको छ ।
वर्षा र हिमपातको समयमा अत्यावश्यक कामबाहेक सुरक्षित स्थानमा बस्न, अनावश्यक आवतजावत नगर्न जिल्ला प्रशासन कार्यालय मुगुले शुक्रबार सूचना जारी गरी सबैमा अनुरोध गरेको छ । जिल्लामा वर्षा र हिमपात भइरहेको भए पनि हालसम्म कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
—