काठमाडौं, १२ कात्तिक । साढे दुई दशकभन्दा बढी समयदेखि शुद्ध चाँदीको कारोबार गर्दै आएको हिमालयन बुलियन कम्पनीले काठमाडौंको न्युरोडमा पनि आउटलेट सञ्चालन गर्ने भएको छ । हालसम्म ज्ञानेश्वरबाट मात्र चाँदीका बार र सिक्काको कारोबार हुँदै आएकोमा आगामी आइतबार न्युरोडमा आउटलेट उद्घाटन गर्ने तयारी पूरा भएको कम्पनी सञ्चालक भिष्म गौतमले जानकारी दिनुभयो ।
‘न्युरोड मलको पहिलो तल्लामा आउटलेट तयार भइसकेको छ,’ सञ्चालक गौतमले भन्नुभयो, ‘कात्तिक १५ गते आइतबार उद्घाटन गर्दै छौं ।’ न्युरोड आउटलेट कम्पनीको व्यवसाय विस्तारको एक हिस्सा रहेको पनि उहाँले बताउनुभयो । ‘यसबाट ग्राहकलाई पनि सहज हुनेछ,’ गौतमले भन्नुभयो । कम्पनीले भविष्यमा देशका अन्य प्रमुख सहरमा पनि आउटलेट विस्तार गर्ने उहाँले जानकारी दिनुभयो ।
न्युरोड आउटलेटमा ग्राहकले चाँदीका बार र सिक्का प्रत्यक्ष अवलोकन गरेर खरिद गर्न सक्छन् । एपमार्फत खरिद गरेको चाँदी पनि उक्त आउटलेटबाट संकलन गर्न सकिने सञ्चालक गौतमले जानकारी दिनुभयो । कम्पनीले चाँदी कारोबारलाई सहज र पारदर्शी बनाउन घटस्थापनाको दिन आफ्नो मोबाइल एप–– ‘एचबीसी एप’ सार्वजनिक गरेको थियो । एपमार्फत ग्राहकले आफ्नो अनुकूलता अनुसार चाँदीका सिक्का तथा बार खरिद गर्न सक्छन् ।
ग्राहकले एपमा खाता खोलेर ग्राहक पहिचान प्रक्रिया पूरा गरेपछि चाँदीको दैनिक मूल्य हेर्न र खरिदको लक्ष्य तोक्न सक्छन् । एपमार्फत १०, २०, ५० र १०० ग्रामका सिक्का तथा ५०० ग्राम वा सोभन्दा बढी तौलका चाँदीका बार खरिद गर्न सकिनेछ ।
कम्पनीले एपका ग्राहकलाई १० लाख रुपैयाँसम्मको व्यक्तिगत दुर्घटना बीमा उपलब्ध गराउने घोषणा पनि गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) र हिमालयन बुलियन कम्पनी (एचबीसी) बीचको सहकार्यमा उपलब्ध हुने उक्त सुविधा बीमालेखका सर्त र प्रावधानअनुसार लागू हुनेछ । दुर्घटना बीमा प्रयोजनका लागि ग्राहकलाई तीन श्रेणीमा बाँडिएको छ । एपमार्फत चाँदी खरिद गरेको पटकको आधारमा ग्राहकलाई स्ट्यान्डर्ड, गोल्डेन र प्लाटिनम श्रेणीमा राखेर क्रमशः स्ट्यान्डर्डलाई १ लाख रुपैयाँ गोल्डेनलाई ५ लाख रुपैयाँ र प्लाटिनम ग्राहकलाई १० लाख रुपैयाँको दुर्घटना बीमा सुविधा उपलब्ध गराइनेछ ।
कम्पनीका अनुसार एचबीसी एप भौतिक चाँदी खरिद गर्ने माध्यम हो । एपमार्फत बुक गरेको चाँदी त्यसको सम्पूर्ण रकम भुक्तानीपछि ग्राहकले कम्पनीको आउटलेटबाट संकलन गर्न सक्छन् । कम्पनीबाट खरिद गरेको चाँदी तीन दिनपछि कम्पनीले प्रकाशित गरेको पुनः खरिद मूल्यमा एचबीसीमै बिक्री गर्न सकिनेछ ।
यस कम्पनीबाट उत्पादित चाँदीका सिक्का र बारहरु प्रमाणिकताको प्रमाणपत्र र बिलसहित उपलब्ध हुन्छन्, जसले चाँदीको ९९.९९ प्रतिशत शुद्धता र गुणस्तरको गायरेन्टी गर्छ । कम्पनीले दुबई र हङकङबाट चाँदीको ग्रान्युल्स आयात गर्दै आएको छ ।
हिमालयन बुलियन कम्पनीबारे
सन् २००० मा स्थापना भएको हिमालयन बुलियन कम्पनी गुणस्तर र शुद्धताका हिसाबले उच्चस्तरीय चाँदीका बार र सिक्काको कारोबार गर्ने कम्पनी हो । यसले विशेष गरी ग्रान्युल्स आयात गरी बार र सिक्काको स्वरुपमा चाँदीको कारोबार गर्छ । यो कम्पनी नेपालको बहुमूल्य धातु बजारमा विश्वास, पारदर्शिता र विश्वसनीयता अभिवृद्धि गर्न प्रतिबद्ध छ ।
कम्पनीले लगानीकर्तालाई सुरक्षित र गुणस्तरीय चाँदीमा लगानी गर्ने अवसर प्रदान गर्छ । ९९.९९ प्रतिशत शुद्धता प्रमाणित चाँदी, पारदर्शी मूल्य निर्धारण, अदृश्य शुल्क नलाग्ने व्यवस्था तथा शतप्रतिशत पुनः खरिदको ग्यारेन्टीमार्फत हिमालयन बुलियन कम्पनीले चाँदीमा लगानीलाई थप सहज, विश्वसनीय र ग्राहककेन्द्रित बनाउने लक्ष्य लिएको छ ।
१० हजारभन्दा बढी सन्तुष्ट ग्राहक रहेको हिमालयन बुलियनले स्थापनायता १५ करोड अमेरिकी डलरभन्दा बढीको चाँदी कारोबार गरिसकेको छ ।







