काठमाडौं, १६ कार्तिक । नेपालको शेयर बजार आज पनि सुस्त गतिमा बढेर रोकिएको छ ।
यस दिन धितोपत्र बजार परिसूचक १.४० अंक बढेर २६६५.५३ विन्दुमा पुगेको छ।
यस दिन कारोबार रकम पनि बढेको छ। मंगलबार ५ अर्ब ६५ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय ५८ स्टकको २ करोड १२ लाख २३ हजार कित्ता शेयर खरिदबिक्रीबाट ७ अर्ब ४३ करोड ९३ लाख ६६ हजार रुपैयाँबराबरको कारोबार भएको छ।
यस दिन नेपाल पुनर्बीमा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन १२० रुपैयाँ २० पैसा बढेर ९२१ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। मन्त्रिपरिषद्को बैठकले नेपाल पुनर्बीमा कम्पनीमा नेपाल सरकारको थप हकप्रद शेयर लगानी गर्न सहमति प्रदान गर्ने निर्णय गरेसँगै यस दिन कम्पनीको शेयरमूल्य उच्च बढेको हो। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको शेयरमूल्य साढे ११ प्रतिशत बढेको छ भने श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ।
यस दिन शेयर मूल्य बढेका अन्य शीर्ष कम्पनीहरुमा घोराही सिमेन्ट्स, नेपाल रिपब्लिकन मिडिया, आरबीबी डिबेञ्चर ८८, मन्दाकिनी हाइड्रो, एनआईएमबी प्रमोटर शेयर, मायाखोला हाइड्रो र निफ्रा डिबेञ्चर रहेका छन् ।
बुधवार कारोबारमा आएको सिभिल बैंक डिबेञ्चर २०८८ को मूल्य यस दिन सर्वाधिक ६.३४ प्रतिशत घटेको छ। यस दिन शेयर मूल्य अधिक घटेका अन्य कम्पनीहरुमा शिखर पावर डेभलपमेन्ट, सीवाईसी लघुवित्त, चिर्ख्वा हाइड्रो, जनउत्थान लघुवित्त, स्नो रिभर्स हाइड्रो, बुटबल पावर कम्पनी, १२ प्रतिशत आईसीएफसी डिबेञ्चर ८३, सनराईज फोकस फण्ड र सानिमा ग्रोथ फण्ड रहेका छन् ।
कारोबार रकमका आधारमा यस दिन श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८५ करोड ८४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन घोराही सिमेन्ट इण्डष्ट्रीको ५१ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम ३६ करोड रुपैयाँ नाघेको छ। अधिक कारोबार हुने अन्य कम्पनीहरुमा एनआईसी एशिया बैंक, घलेम्दी हाइड्रो, तमोर सानिमा हाइड्रो, शिभम् सिमेण्ट्स, ग्लोबल आईएमई बैंक, अपि पावर र कुमारी बैंक लिमिटेड रहेका छन् ।
१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक ६।१८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन व्यापार उपसमुहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी बढेको छ भने जीवन बीमा र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।







