कीर्तिपुर(काठमाडौं), २० कार्तिक। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज खेल हुँदैछन् । दुवै खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछन्।
दिउँसो १२ः३० बजे सुरु हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्दै छन् भने ५ः०० बजे आरम्भ हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेञ्जर्स।
जारी प्रतियोगितामा चार खेलबाट दुई जित र दुई हारको नतिजा निकालेको सुदूरपश्चिमलाई प्लेअफको यात्रा मजबुत बनाउन आजको खेल जित्नैपर्ने दबाब छ। अर्कोतर्फ, तीन खेलमा एक जित र दुई हारको सामना गरेको कर्णाली याक्स पनि अंक तालिकामा आफ्नो स्थिति मजबूत पार्ने तयारीमा छ।
साँझ ५ बजे हुने दोस्रो प्रतिस्पर्धामा चितवन राइनोज र पोखरा एभेन्जर्सबीचको खेल झन रोचक हुने अनुमान छ ।
तीन खेलबाट एक जित, एक हार र एक खेलमा अंक बाँड्दै तीन अंक जोडेको चितवन तालिकाको तल्लो स्थानबाट माथि उठ्ने दाउमा छ। यता लगातारको तीन हारपछि पहिलो जितको खोजीमा रहेको पोखरा एभेन्जर्स भने आज चितवनलाई हराउँदै जितको खाता खोल्ने योजनामा छ।







