काठमाडौं, २० कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत शुक्रवार सम्पन्न दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेञ्जर्सलाई ३० रनले पराजित पराजित गरेको छ । खेलमा लगातार चौथो हार व्यहोरेको पोखरा एभेन्जर्सको अब प्लेअफमा पुग्ने सम्भावना अत्यन्त कमजोर भएको छ।
अब पोखराका लागि लिगका बाँकी आफ्नो खेल जितेर अन्य खेलमा नतिजा आफू अनकुल भएको खण्डमा मात्र प्ले अफ चरणमा पुग्ने सम्भावना हुन्छ ।
पहिलो खेलमा सुदूरपश्चिमसँग ६ विकेटले पराजित भएको पोखरा दोस्रो खेलमा जनकपुरसँग ९ रनले खेल गुमाएको थियो। तेस्रो खेलमा लुम्बिनीसँग ८ विकेटको फराकिलो हार व्यहोरेको थियो।
पोखराका मार्की खेलाडी रहेका कुशल भूर्तेल आईसीसी लिग २ को नेदरल्याण्ड्स श्रृखलादेखि लयमा छैनन् । नेदरल्याण्ड्स श्रृखलापछि राष्ट्रिय टिमबाट समेत बाहिर परेका उनी एशियाली खेल र एसीसी प्रिमियर कपमा पनि बाहिर रहे । एनपीएलको तेस्रो संस्करणमा टोलीको क्याप्टेन रहेका उनलाई टीमले लगातार हार ब्यहोरेपछि क्याप्टेनबाट पनि बाहिर राखेर श्रीलंकाका चमिका कुमारारत्नेलाई नेतृत्व दिइएको छ । नेदरल्याण्ड्स श्रृखलापछि एक दिवसीय खेलका क्याप्टेनसीप खोसिएका रोहित पौडेल लयमा देखिएका छन् । उनकै जस्तो अवस्था झेलेका कुशल मल्ल र सोमपाल कामी भने लयमा देखिएका छन् ।
यता पोखरालाई हराएसँगै चितवन भने अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ। २ खेलमा जित, एक खेलमा हार र एक खेलमा अंक बाँडेको चितवन ५ अंकमा तालिकाको तेस्रो स्थानमा उक्लेको हो।
चितवनले पहिलो खेलमा विराटनगरलाई ८ रनले हराउँदा दोस्रो खेलमा भने वर्षाका कारण लुम्बिनीसँग अंक बाँडेको थियो। तेस्रो खेलमा सुदूरपश्चिमसँग ५ विकेटको हार भोगेको थियो।
आज चितवनले दिएको १ सय ५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा १ सय २१ रन बनाउँदा अलआउट भयो।
पोखराका लागि अजुर्न कुमालले सर्वाधिक ४५ रनको योगदान दिए। उनी १८ औँ ओभरमा ४५ रन बनाउँदा कमल ऐरीको बलमा क्याच भए। युवराज शर्मा १९ रन बनाउँदा डान मुस्लीको बलमा बोल्ड भए। किरण ठगुन्ना १३ रन बनाउँदा रिजन ढकालको बलमा कुशल मल्लबाट क्याच आउट भए। अर्जुन घर्ती १२ रनमा क्याच आउट नै भए। कुशल भुर्तेल र सदीरा समरविक्रमले समान ४ रन थप्दै पेभेलियन फर्के। मेहदी हसनल ७ रन थपे।
कप्तान चमिका करुणारत्ने २ रन बनाउँदा रिजनको बलमा विकेट किपर अर्जुन साउदबाट आउट भए।
चितवनका लागि रिजन ढकालले ४ विकेट लिए। कमलले ३ विकेट लिए। डान मुस्ले, मौसम ढकाल र कुशल मल्लले समान एक एक विकेट लिए।
कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा त्यसअघि पोखराले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५१ रन बनाएको थियो।
ओपनर अर्जुन साउद र डविड मलानले पहिलो विकेटका लागि ८.६ ओभरमा ६० रनको साझेदारी गर्दै चितवनलाई उत्कृष्ट सुरुवात दिलाएका थिए।
२७ बलमा३१ रन बनाएका अर्जुन विपिन खत्रीको बलमा एलबीडब्लु धरापमा परे। मलान २८ बलमा २८ रन बनाउँदा कुशल भुर्तेलको बलमा बोल्ड भए। कुशल मल्लले ११ र डान मुस्लीले २ रन थपे। २८ बलमा ३५ रन बनाएका रवि चमिका करुणारत्नेको बलमा विपिन खत्रीबाट क्याच आउट भए। १६ बलमा ३७ रन बनाउँदा करुणारत्नेको बलमा राजा क्याच आउट भए। कमल ४ रनमा अविजित रहे।
चितवनलाई रोक्ने क्रममा चमिका करुणारत्ने, कुशल भुर्तेल र विपिन खत्रीले समान २ विकेट लिए।
आजको पहिलो खेलमा सुदूरपश्चिमले कर्णालीलाई ३९ रनले हराएको थियो। यो जितसँगै सुदूरपश्चिम छैटौंबाट दोस्रो स्थानमा उक्लेको छ।







