अन्ताल्या (टर्की), २६ कात्तिकः परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा तुर्कीए अन्ताल्यामा उहाँहरूबीच आज द्विपक्षीय भेटवार्ता भएको हो ।
भेटका अवसरमा परराष्ट्रमन्त्री खनालले हालैको जलवायुजन्य भोटेकोशी बाढीपछि नेपालप्रति समवेदना र ऐक्यबद्धता व्यक्त गर्नुभएकामा महासचिव गुटेरेसप्रति हार्दिक आभार व्यक्त गर्नुभयो । उहाँले संयुक्त राष्ट्रसङ्घको नेतृत्व गर्दै बहुपक्षीयता, विश्व शान्ति, मानवीय गरिमा र दिगो विकासका लागि महासचिव गुटेरेसले पु¥याउनुभएको योगदानको प्रशंसा गर्नुभयो ।
सो अवसरमा महासचिव गुटेरेसले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना मिसनमा सेना तथा प्रहरी पठाउने प्रमुख राष्ट्रका रूपमा नेपालले विश्व शान्ति र स्थायित्वमा पु¥याउँदै आएको महत्त्वपूर्ण योगदानको सराहना गर्नुभयो । भेटमा दुवै पक्षबीच भोटेकोशी बाढीपछि पुनःस्थापना तथा पुनर्निर्माण प्रयास, विश्वव्यापी शासन प्रणालीमा सुधारको आवश्यकता, बहुप्रकोप पूर्वसूचना प्रणाली, जलवायु वित्तमा वृद्धि तथा जलवायु कार्यका विषयमा समेत विचार आदानप्रदान भएको थियो ।
उक्त भेटमा क्षेत्रीय तथा विश्वव्यापी महत्त्वका विषयमा छलफल हुनुका साथै जलवायु परिवर्तनका चुनौती सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहकार्य र बहुपक्षीय प्रयासलाई थप प्रभावकारी बनाउने विषयमा समेत कुराकानी भएको थियो ।