Prakash Adhikari November 13, 2026

कीर्तिपुर(काठमाडौं), २७ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई खेल हुँदै छन् ।

लिगको २४ औं खेलमा आज काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स शीर्षस्थानको लागि भिड्दै छन् ।अर्कोतिर प्लेअफको आशा जीवितै राख्न चितवन राइनोज र जनकपुर बोल्ट्स आमने सामने हुँदै छन् ।

पहिलो खेलमा काठमाडौँ र सुदूरपश्चिम

आज दिउँसो १२ः३० बजे सुरु हुने पहिलो खेलमा काठमाण्डौं गोर्खाज र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। जारी प्रतियोगितामा उत्कृष्ट लयमा रहेका यी दुवै टोली अङ्क तालिकाको शीर्षस्थानमा उक्लिने लक्ष्यका साथ मैदान उत्रनेछन्। हालसम्म ५ खेल खेलेको काठमाण्डौं ४ जित र १ हारसहित अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ भने ६ खेलमा ४ जित र २ हार बेहोरेको सुदूरपश्चिम तेस्रो स्थानमा छ।

दोस्रो खेलमा चितवन र जनकपुरको भिडन्त

आज दिउँसो ४ः३० मा सुरु हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ। अङ्क तालिकाको पाँचौँ स्थानमा रहेको चितवन र छैटौँ स्थानमा रहेको जनकपुर प्लेअफको सम्भावना जीवितै राख्न खेल्दै छन् ।

Share Now