कीर्तिपुर(काठमाडौं), २ मंसिर । कमिल मिसराको विस्फोटक शतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटर खेलमा काठमाडौं गोर्खाजसामु २ सय ५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ४ रन बनाएको हो।
खेलमा मिसराले ५९ बलमा ५ चौका र १० छक्कासहित अविजित १ सय २० रन बनाए। उनी एनपीएल इतिहासमा शतक बनाउने पाँचौं खेलाडी बनेका छन्। हालसम्मका खेलमा एकै खेलमा सबैभन्दा बढी रन बनाउने खेलाडी पनि ।
यसअघि एन्ड्रिज गौस (१ सय ४ रन ), मार्क वाट (१ सय १४ रन), एडम रोसिङ्टन (१ सय ८ रन) र युवराज सामरा (१ सय २ रन) ले एनपीएलमा शतक बनाएका थिए।
सुरुआतमै देव खनाललाई १७ र डेविड मलानलाई शून्य रनमा ंगुमाएको चितवनका लागि मिसरा र कप्तान रवि बोपाराले १ सय ५४ रनको उत्कृष्ट साझेदारी गरे। बोपाराले ४२ बलमा ५३ रन बनाए। विवेक यादवले ३ बलमा ८ रन जोडे।
चितवनलाई रोक्ने क्रममा बलिङतर्फ करण केसी र राशिद खानले समान २ । २ विकेट लिए।






