काठमाडौं, २ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफू, नेपाली काँग्रेसका निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पाटीका संयोजक पुष्पकमल दाहाललाई पक्राउ गर्ने धम्की दिएको बताउनुभएको छ।
पार्टीको राष्ट्रिय भेलामा सम्बोधन गर्दै उहाँले प्रहरी महानिरीक्षकले आफूहरुलाई पक्राउ गर्ने अभिव्यक्ति दिएको आरोप लगाउनुभयो। राजनीतिक नेतृत्वलाई पक्राउ गर्ने धम्की दिनु गैरजिम्मेवारपूर्ण भएको उहाँले बताउनुभयो। राणाशासन, पञ्चायती व्यवस्था र निरंकुश राजतन्त्रविरुद्ध संघर्ष गरेर आएको राजनीतिक नेतृत्वलाई सामान्य रूपमा नलिन उहाँले चेतावनी समेत दिनुभयो । उहाँले कसैविरुद्ध अपराधको प्रमाण भेटिए कानूनी कारबाही गर्न आग्रह गर्दै पक्राउ गर्ने धम्की नदिन चेतावनी दिनुभयो । अध्यक्ष ओलीले गृहमन्त्री सुदन गुरुङले फाइल खोल्ने र १ सय १ जनालाई पक्राउ गर्ने अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दै सके सबैलाई थुन्न चुनौति दिनुभयो ।
उहाँले भन्नुभयो, “आज एउटा आतङ्कपूर्ण, त्रासमय आईजीपी, आईजीपी हुनेबित्तिकै होसमा हो कि बेहोसमा हो बोलेको सुन्छु म । आईजीपीको बोलाइ त्यस्तो हुन्छ ? म केपी ओलीलाई थुन्दिन्छु, म शेरबहादुरलाई थुन्दिन्छु, म प्रचण्डलाई थुन्दिन्छु । केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा भनेका मजाकका पात्र हुन् यिनका ? थुन्दिन्छु रे ? हामी राणाशासनका विरुद्ध लडेर आएका हौँ, पञ्चायती शासनका विरुद्ध लडेर आएका हौँ, निरङ्कुश राजतन्त्रका विरुद्ध लडेर आएका हौँ । अनि ६ महिनेको जागिर खाने एउटा सिपाहीले भन्छ फलनालाई थुन्दिन्छु, ठट्टा मजाक गर्या हो ? तिमी जन्मिनभन्दा अगाडिदेखि हामी देशका लागि आन्दोलनमा ज्यानको बाजी थापेर हिँडिराखेका छौँ । मजाक गर्ने हामीमाथि? थुने हुन्छन् त समातेर । जो आउँछ थुन्दिन्छु, जो आउँछ थुन्दिन्छु, के हो यो ? हामी मजाकका पात्र हौँ ? ठट्टा जस्तो भएको छ सबलाई । थुन्दिन्छु रे । प्रमाण भेटे त उनी पनि थुनिन्छन् होला नि, गलत काम गर्या प्रमाण भेटे । अरू पनि त थुनिन्छन् होला नि । गृहमन्त्रीको देखिन्छ, फाइल खोल्दै छु, पर्खिनुस् सब थुनिन्छन्, १ सय १ थुनिन्छन् । कसलाई भन्या हो? अब सबै थुनिन्छन् भने उनी र को बाँच्छन् त नेपालमा ? को बाँकी रहन्छ? सबै थुनिन्छन् भने को चाहिँ बाँकी रहन्छ? यस्तो गैरजिम्मेवार ढङ्गका अभिव्यक्ति दिएर आतङ्कको राज, मनोवैज्ञानिक आतङ्क अन्त फिँजाऊ, नेकपा एमाले यस्ता हावादारी कुराहरूबाट यस्ताहरूबाट हल्लिनेवाला पनि छैन, वास्ता गर्नेवाला पनि छैन ।”
उहाँले एमाले कसैको आतंकबाट डराउने पार्टी नभएको बताउँदै गृहमन्त्री विरुद्ध पनि विभिन्न प्रमाणहरु पाइएको उल्लेख गर्नुभयो ।
मूल ढोकाबाटै सिंहदरबार पस्ने
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पुनः सरकारमा फर्किने दाबी गर्नुभएको छ। पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दाबी गर्नुभएको हो।
उहाँले एमाले कसैको दया, माया र कृपाले नभई संघर्ष र जनताको समर्थनबाट सत्तामा पुगेको बताउनुभयो। उहाँले प्रतिक्रियावादी, जनविरोधी तथा देशको अहित चाहने शक्तिले चौतफी घेराबन्दीमा पारेर असंवैधानिक बाटोबाट सत्ताबाट हटाएपनि फेरि सत्तामा पुग्ने दाबी गर्नुभयो । अध्यक्ष ओलीले एमाले फेरि सरकारमा फर्किने र देशको विकास तथा समृद्धिका कामलाई अगाडि बढाउने बताउनुभयो । उहाँले एमालेले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाक्षालाई अझ स्पष्ट दृष्टिकोण र दृढताका साथ अघि बढाउने बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, “नेकपा एमाले दया, माया, कृपाले बाँचेको पार्टी होइन । संघर्षको मैदानबाट, सङ्घर्षको मैदानबाट आएर, लडेर, जितेर कसैको कृपाले हामी सरकारमा गएका थिएनौँ । सरकारको नेतृत्व कृपाले, जनताको कृपाले गएका हौँ । अरू कुनै प्रतिक्रियावादी शक्तिहरू, जनविरोधी शक्तिहरू, देशद्रोही शक्तिहरूका कृपा र आशीर्वाद अथवा नेपालको अहित चाहनेहरूका कृपा, आशीर्वादमा नेकपा एमाले सरकारमा गएको होइन ।”
उहाँले फेरि नेकपा एमाले सरकारमा जाने बताउँदे भन्नुभयो, “कान खोलेर सुने हुन्छ । देश बनाउँछ नेकपा एमालेले । विकासका काम जुन अगाडि सारेको छ नेकपा एमालेले, ती विकासका कामहरूलाई नेकपा एमालेले फेरि अगाडि बढाउँछ । समृद्ध नेपाल सुखी नेपालीको सपना देख्न छोड्दैन, झन् प्रस्ट ढङ्गले देख्छ, झन् दृढताका साथ नेकपा एमाले अगाडि बढ्छ । तसर्थ नेकपा एमाले कतिले अब मजाकको विषय बनाउलान्, फेसबुकमा लेख्लान् । अलिक दिन फेसबुकमा लेख्दै गर, हेर्दाहेर्दै नेकपा एमाले सरकारमा जान्छ ।”
उहाँले थप्नुभयो, ” मैले पहिले पनि भनेको थिएँ एमालेलाई घेराबन्दी हालेर निष्कासन गर्दा, सरकारबाट हटाउँदाखेरि, तर त्यतिबेला संवैधानिक बाटोबाट हटाएका थिए । संवैधानिक बाटोबाटै हामी मूल गेटबाट सिंहदरबार पस्छौँ, जस्केलाबाट होइन, झ्यालबाट होइन, भेन्टिलेसनबाट होइन । मूल ढोकाबाट, मूल बाटोबाट एमाले सिंहदरबार पस्छ भनेर हामीले भनेका थियौँ । फेरि पस्यौँ । फेरि पनि म भन्न चाहन्छु, नेकपा एमाले यो देशको भविष्य हो । नेकपा एमाले यो देशको राष्ट्रियताको रक्षा गर्ने रक्षक हो । यो देशको विकास गर्ने नायक हो नेकपा एमाले। त्यसकारण नेकपा एमाले त्यसैगरी अगाडि बढ्नेछ ।”
सामाजिक सञ्जालमा एमालेको राजनीतिक भविष्यलाई लिएर भइरहेको टिप्पणीप्रति कटाक्ष गर्दै ओलीले केही समय फेसबुकमा आलोचना गर्दै बस्न आग्रह गर्नुभयो । यसअघि सरकारबाट हटाइँदा पनि आफूहरूले संवैधानिक बाटोबाटै पुनः सत्तामा फर्किएको उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले अब पनि फेरि एमाले सिंहदरबारको मूल ढोकाबाट प्रवेश गर्ने बताउनुभयो ।






