दोहा(कतार), ४ मंसिर । हिजोदेखि कतारमा सुरु भएको एशिया कप राइजिड. स्टार्स क्रिकेट प्रतियोगितामा आज नेपाल भारतको टीम ‘ए’संग भिड्ने भएको छ ।
खेल दोहास्थित वेष्टइण्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार अपरान्ह ३ः४५ बजे(स्थानीय समय अनुसार दिउँसो १ बजे) सुरु हुनेछ ।
पुरुष एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान)ले लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ।अनुभवी र युवा खेलाडीको सन्तुलन मिलाएर टोली छनोट गरिएको हो।
टोलीमा कप्तान लामिछानेसँगै कुशल भुर्तेल, सोमपाल कामी, ललित राजवंशी, सन्दीप जोरा, पवन सर्राफ, लोकेश बम, देव खनाल, बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, दीपक डुम्रे, अभिशेष गौतम, इशान पाण्डे र राशिद खान समावेश छन्।सोमपाल कामीलाई एनपीएलको खेलमा चोट लागेको हुनाले उनको स्थानमा प्रतीश जिसीलाई राखिएको बताइएको छ । यसअघि ‘ट्राभलिङ रिजर्भ’ को सूचीमा रहेका मयन यादवलाई पनि मुख्य स्क्वाडमा समावेश गरिएको नेपाल क्रिकेट संघले जनाएको छ ।
हिजो नोभेम्बर १९ तारिखदेखि कतारमा सुरु भएको प्रतियोगिताको समूह चरणमा नेपालले बलियो प्रतिद्वन्द्वीहरूको सामना गर्नेछ। खेल तालिकाअनुसार नेपालले पहिलो खेल नोभेम्बर २० मा भारतसँग, दोस्रो खेल नोभेम्बर २२ मा युनाइटेड अरब इमिरेट्स (युएई)सँग र समूह चरणको अन्तिम खेल नोभेम्बर २४ मा पाकिस्तानविरुद्ध खेल्नेछ।
नोभेम्बर १९ देखि २९ सम्म कतारमा चल्ने यस प्रतियोगितामा नेपालले लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा चुनौती पेस गर्दैछ ।
नेपाली क्रिकेट समर्थकहरूले अब ‘डीपी वर्ल्ड एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६’ अन्तर्गत नेपालका सबै खेलहरू डिगोमा प्रत्यक्ष हेर्न पाउने भएका छन् ।
दर्शकहरूले डिगो क्वार्टरली प्याकेज (डिगो स्पोर्टस प्याकेज) लिएर नेपालका सबै खेलहरूसहित सम्पूर्ण प्रतियोगिता बिना अवरोध हेर्न पाउने भएका हुन् ।







