Prakash Adhikari November 20, 2026

 

काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री बालेन्द्र साहको आसन्न भारत भ्रमणमा राजनीतिक भेटवार्तासँगै आर्थिक कुटनीति र निजी क्षेत्रबीचको सहकार्यलाई प्राथमिकता दिइने भएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मंसिर ६ र ७ गते हुन लागेको दुईदिने भ्रमणका क्रममा प्रधानमन्त्री साहले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नुका साथै नेपाल र भारतका व्यवसायीबीच आर्थिक सहकार्य विस्तारका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले शुक्रवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरमको छलफलसमेत आयोजना हुने जानकारी दिनुभयो । उक्त फोरममा दुवै देशका व्यवसायीबीच सहकार्यका सम्भावना, नीतिगत दृष्टिकोण र आर्थिक साझेदारीका प्रयासबारे छलफल हुनेछ । भ्रमणमा निजी क्षेत्रबाट ५२ सदस्यीय नेपाली व्यवसायीको टोली सहभागी हुँदैछ ।

भ्रमणका क्रममा प्रधानमन्त्री साहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुहुने छ । त्यसपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने र भारतीय प्रधानमन्त्री मोदीले नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोज आयोजना गर्ने कार्यक्रम छ । प्रधानमन्त्री साहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसंग भेट गर्नुहुने छ भने विदेशमन्त्री एस जयशंकरले उहाँलाई भेट गर्नुहुनेछ ।

प्रधानमन्त्री शाहले नयाँ दिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा ऊर्जा सहकार्य तथा सम्पर्क सञ्जाल विस्तारसँग सम्बन्धित परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने तयारीसमेत छ । शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधनलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्र आदानप्रदान गरिने मन्त्रालयले जनाएको छ ।

परराष्ट्रसचिव राईका अनुसार , ‘भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नुहुनेछ ।

भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरममार्फत दुवै देशका व्यवसायीबीच सहकार्य र लगानीका सम्भावनाबारे छलफल हुनेछ ।

भ्रमणपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनसमेत आयोजना गरिनेछ । भ्रमणलाई सफल बनाउन सञ्चारमाध्यमबाट सहयोग, सुझाव तथा सकारात्मक समाचार संप्रेषण गर्ने सञ्चारकर्मीहरूलाई परराष्ट्र मन्त्रालयका तर्फबाट धन्यवाद व्यक्त गरिएको छ ।’

सचिव राईले नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै उच्चस्तरीय भ्रमणले द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री साहको भ्रमणमा सरकारी प्रतिनिधिमण्डलका ३४ सदस्यसहित निजी क्षेत्रका व्यवसायी ५२ जना प्रतिनिधि र सञ्चारकर्मीहरुको समेत सहभागिता रहने छ ।

Share Now