काठमाडौँ, ५ मङ्सिरः प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सलाई बधाई दिनुभएको छ ।
प्रधानमन्त्री शाहले एनपीएलको छैटौं संस्करणदेखि होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने गरी सबै आठ वटै क्लबका आफ्नै फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण हुने वचन पनि दिनुभएको छ ।
उहाँले क्रिकेट रंगशाला नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालयले निर्माण गरिदिने बताउनुभएको छ । उहाँले भन्नुभएको छ,फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ। आगामी तीन महिनाभित्र सबै रंगशालाको निर्माण प्रकृया अघि बढाईनेछ ।
प्रधानमन्त्रीले दिनुभएको जानकारी अनुसार विराटनगर किंग्सका लागि बैजनाथपुर क्रिकेट रंगशाला बन्ने छ भने लुम्बिनी लायन्सका लागि सिद्धार्थ क्रिकेट रंगशाला । त्यस्तै कर्णाली याक्सका लागि सुर्खेत क्रिकेट रंगशाला बनाइने छ भने सुदूरपश्चिम रोयल्सका लागि फाप्ला क्रिकेट रंगशाला । काठमाडौं गुर्खाजका लागि कीर्तिपुर क्रिकेट मैदान तयार छ भने पोखरा एभेन्जर्सका लागि पोखरा क्रिकेट रंगशाला बनाइने छ । त्यस्तै जनकपुर बोल्ट्सका लागि रामजानकी क्रिकेट रंगशाला निर्माण गरिने छ भने चितवन राइनोजका लागि निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालालाई पूरा गरिने छ ।
प्रधानमन्त्री शाहले क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार तयार पनि बताउनुभएको छ ।






