काठमाडौं, १ मंसिर । धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग(डीपीएल)को तेस्रो संस्करण आगामी माघ १९ देखि सुरु हुने भएको छ ।
आयोजक धनगढी क्रिकेट एकेडेमीले काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिता माघ १९ देखि फागुन ४ गतेसम्म आयोजना गरिने जानकारी गराएको हो । गत संस्करण बैशाख र त्यसअघिको पहिलो संस्करण चैतमा सम्पन्न भएको थियो ।
नयाँ संस्करणसँगै प्रतियोगिताको बजेट पनि बढेर ५ करोड पुगेको छ । मुख्य प्रायोजन विजय डिस्टिलरीले १ करोड १० लाख बराबरको प्रायोजन गर्ने भएको छ । जुन घरेलु क्रिकेटमा अहिलेसम्मकै सबै भन्दा बढीको प्रायोजक रकम हो । जसमा ८० प्रतिशत क्यास र ३० प्रतिशत सामग्री रहेको छ । गत बर्ष रुस्लानले डीपीएलका लागि ७० लाख रूपैयाँ प्रायोजन गरेको थियो ।
शुक्रबारको कार्यक्रममा मुख्य प्रायोजन सम्झौता नवीकरण पनि गरिएको छ ।
प्रायोजन सम्बन्धी सम्झौतामा शुक्रबार विजय डिस्टिलरीका चिफ फाइनान्स अफिसर सतिश कर्ण र एकेडेमीका अध्यक्ष सुवास शाहीले हस्ताक्षर गरेका छन् ।
प्रतियोगितामा ६ शहरका ६ टोलीलाई नै निरन्तरता दिइनेछ । प्रतियोगितामा टिम चौराहा धनगढी, सीवाईसी अत्तरिया, महेन्द्रनगर युनाइटेड, रुपन्देही च्यालेञ्जर्स, काठमाडौं गोल्डेन्स र विराटनगर किङ्सलाई नै निरन्तरता दिइएको छ ।
प्रतियोगिताको यसअघिका दुवै संस्करण टिम चौराहा धनगढीले जितेको थियो । टी–२० फर्म्याटमा हुने प्रतियोगितामा कुल १९ खेल हुनेछन् । लिग चरणमा शीर्ष चारभित्र पर्ने टोली प्लेअफका लागि छानिनेछ ।
पहिलो प्लेअफमा शीर्ष दुई स्थानमा रहेका टोलीबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ । लिगको तेस्रो र चौथो हुने टिमले इलिमिटेनर खेल खेल्नेछन् । त्यस खेलको विजेताले पहिलो प्लेअफमा पराजित हुने टिमसँग फाइनल प्रवेशका लागि खेल्नेछ ।


















