Prakash Adhikari February 27, 2019

 

काठमाडौं,१५ फागुन । सरकारी अस्पतालमा कार्यरत देशभरका डाक्टरहरुले आजबाट आकस्मिकबाहेकका सबै सेवा बहिष्कार गरेका छन् ।

सरकारले ल्याएकोकर्मचारी समायोजन विधेयक र समायोजन कार्यक्रममा चिकित्सकहरुलाई अन्याय भएको भन्दै उनीहरुले त्यसलाई सच्याउनका लागि आन्दोलन थालेका हुन् ।

चिकित्सकहरुको आन्दोलनका कारण काठमाडौंका वीर, टिचिङ, कान्ति, ट्रमा सेन्टर, टेकुलगायतका अस्पतालहरुले ओपीडीको टिकट काटेका छैनन् ।

उपत्यका बाहिरका अस्पतालहरुमा पनि आकस्मिकबाहेकका सेवा बन्द छन् ।

डाक्टरहरुले चरणबद्ध आन्दोलन गर्दै आएका छन् । यसअघि उनीहरुले धर्ना, र्‍यालीलगायतका कार्यक्रम गर्दै आएका थिए । सबै सरकारी डाक्टरहरुलाई संघ मातहत राख्नुपर्ने माग उनीहरुको छ ।

सरकारी चिकित्सक संघ (गोदान) का अध्यक्ष डा। दीपेन्द्र पाण्डेले अनलाइनखबरसँग भने, ‘हाम्रा माग सम्बोधन गर्न सरकारलाई दिएको ७२ घण्टे अल्टिमेटम सकियो तर सरकारी पक्षबाट कुनै रेस्पोन्स आएन । त्यसैले पूर्वघोषित कार्यक्रम अनुसार, सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गरेका हौं ।’

सरकारी चिकित्सक संघको यो आन्दोलनलाई नेपाल मेडिकल एसोसियसनले समेत समर्थन गरेको छ । त्यसैले उपचार सस्तो हुने सरकारी अस्पतालहरुमा उपचार सेवा प्रभावित भएको छ । सरकारी अस्पतालमा ओपीडी सेवा बन्द भएपछि बिरामीहरु निजी अस्पतालमा जान बाध्य छन् र महंगो शुल्कको मारमा परेका छन् ।

देशभर करिब १४ सय सरकारी डाक्टर छन् । उनीहरुले स्वास्थ्य सेवा दिवस मनाउने आजको कार्यक्रम पनि बहिष्कार गरेका छन् ।

Share Now

Leave a comment.