पोखरा(कास्कीं), २० फागुन । पोखराको आकर्षक साहसी पर्यटकीय खेल प्याराग्लाइडिङमा दुर्घटनामा परेर सोमबार दुई पर्यटक घाइते भएका छन्।
कास्कीको माछापुच्छ्रे गाउँपालिकाको ठाँटीमा विद्युतको पोलमा ठोक्किएर पोल्याण्डका जानुज कारोल गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारको लागि पोखराको मणिपाल अस्पताल ल्याइएको छ।
अर्का विदेशी प्याराग्लाइडर भने कास्कीकै मादी गाउँपालिकाको छाचोकमा दुर्घटना परेका हुन्। ६३ वर्षिय इलगिज यागुदिन रूखमा अड्कीएका थिए। उनलाई स्थानीयले उद्धार गरिसकेका छन्। उनी निकै अप्ठ्यारो भीरको रुखमा अड्केको स्थानीयले बताए।
दुर्घटना परेको पाइलटहरु कुन स्थानबाट उडान भरेर त्यता पुगेको भन्नेबारे कुनै जानकारी नआएको र कुन कम्पनीबाट उडेको जानकारी नभएको कास्की प्रहरीका डिएसपी रबीन्द्रमान श्रेष्ठले बताए।
माछापुच्छ्रे गाउँपालिकाको ठाँटीमा दुर्घटनामा परेका जानुज कारोलको अवस्था गम्भीर छ भने अर्का इलगिज यागुदिन सामान्य घाइते भएको बताइएको छ।
गम्भीर घाइते भएको जानुज कारोल विद्युतको तारमा जेलिँदै भुइँमा खसेका थिए। ‘विजुलीको तारमा छोएर भुइँमा खसेका रहेछन् ,’ स्थानीय लालबहादुर गुरुङले भने, ‘विद्युतको तारमा छोएर झरेरको भएर होला एउटा हात नै जलेको छ।
आइतबार मात्रै पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा रोमानियाका ४५ बर्षीय इवे चिस जर प्यारा ग्याइडिड.का क्रममा पोखराको फेवातालमा डुब्दा निधन भएको थियो ।
पोखरामा यतिबेला करिब २ सय रसियन र अन्य देशका पर्यटकहरू प्याराग्लाइडिङ गर्न पोखरा आएको एक पर्यटन व्यवसायीले बताए।


















