काठमाडौं, १४ फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चैत्र १६ गते शनिवारको दिन आह्वान गरेको बन्द फिर्ता लिएको छ ।
पार्टीले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै सो बन्द फिर्ता लिएको जनाएको हो ।
पार्टीका महासचिव विप्लवद्धारा हस्ताक्षरित उक्त विज्ञप्तिमा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुर र नेपाल वार एशोसिएसनको आग्रहमा बन्द फिर्ता लिएको जनाइएको छ । विज्ञप्तिमा नेकपालाई जिम्मेवार पार्टीको रुपमा व्यख्या गर्दै १६ गते शनिवार भएपनि विद्यालय तहको कक्षा १०को माध्यमिक शिक्षा परीक्षा(एसईई) पर्न गएको ४ लाख ७५ हजार ३ विद्यार्थीहरुको भविष्यप्रतिको जिम्मेवारीबोध गर्नुको साथै सम्पूर्ण नेपालीहरुको मौलिक अधिकार सहित कानूनी हकको प्रतिरक्षा गर्न सक्रिय देशभरका कानून व्यवसायीहरुको संस्था नेपाल वार एशोसिएसनको नेतृत्व चयनको लागि निर्वाचन परेकोले निर्वाचन कार्यक्रम निर्वाध रुपमा सञ्चालन गर्न दिन बन्द फिर्ता लिइएको जिकिर गरिएको छ ।
कार्यकर्ता व्यापक पक्राउ

सरकारले विप्लव नेतृत्वको नेकपामा प्रतिबन्ध लगाएको दुई सातामा उक्त पार्टीका ९० जना भन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ परिसकेको अधिकारीहरूले बताएका छन्।
गत फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकले उक्त पार्टीलाई ‘आपराधिक तथा विध्वंसकारी समूह’का रूपमा घोषणा गर्दै उसका गतिविधिहरूमा प्रतिबन्ध लगाएको थियो।
त्यसयता राजधानी काठमाडौंसहित देशका विभिन्न भागबाट दैनिकजसो उक्त पार्टीका नेता तथा कार्यकर्ताहरू पक्राउ परिरहेका छन्।
नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीका अनुसार मङ्गलवारसम्म उक्त पार्टीका ९३ नेता तथा कार्यकर्ता पक्राउ परेका छन्। बुधवार पनि थप केही नेता तथा कार्यकर्ताहरू पक्राउ परेका छन् । हालसम्म इलाम, मोरड., उदयपुर,सप्तरी, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर,भक्तपुर, बारा, पर्सा, चितवन, तनहुँ, कास्की, नवलपरासी, कपिलवस्तु, अछामका विभिन्न भागबाट सो पार्टीका कार्यकर्ताहरु पक्राउ परेका छन् ।
नेपाल प्रहरीले पक्राउ गरेकामा सो पार्टीका क्षेत्र र जिल्ला इन्जार्चसहित मुख्य जिम्मेवारीमा रहेका व्यक्तिहरु परेका छन् ।
यसरी पक्राउ पर्नेमा उक्त पार्टीको मध्य क्षेत्रीय कमान्डर हेमन्तप्रकाश वली सबैभन्दा उपल्लो तहका नेता छन्।
उनी गत शनिवार बिहान काभ्रेबाट पक्राउ गरिएका थिए।
पार्टीभित्र तेस्रो उच्च तहको नेता मानिने उनलाई चन्दको विश्वासपात्र ठानिन्छ।
उनी पक्राउ पर्दा उक्त पार्टीको गोप्य दस्तावेजहरू हात परेको प्रहरीले दाबी गरेको थियो।
वली पक्राउ पर्नु केही दिन अघि मात्र काभ्रेमा नै उक्त पार्टीका कार्यकर्तासँग दोहोरो भिडन्त भएको प्रहरीले दाबी गरेको थियो।
प्रहरीले मङ्गलबार पश्चिम नेपालको अछाम जिल्लामा पनि उस्तै खाले दोहोरो भिडन्त भएको र त्यस क्रममा पनि चन्द नेतृत्वको पार्टीका ४ जना कार्यकर्ता पक्राउ परेको अछामका प्रहरी नायब उपरिक्षक (डीएसपी) जनकबहादुर शाहीले बताएका छन्।
फरक फरक मुद्दा
पक्राउ परेका उक्त पार्टीका कार्यकर्ताहरूलाई विभिन्न खाले कसूरमा कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।
हतियार सहित पक्राउ परेकालाई हात हतियार तथा खरखजना मुद्दा लगाइने प्रवक्ता सुवेदीले बताए।
विस्फोटमा संलग्नहरूलाई विध्वंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा कारबाही गरिने अधिकारीहरू बताउँछन्।
पक्राउ परेका वली सहितका नेता(कार्यकर्तालाई भने ललितपुरमा रहेको एउटा निजी दूरसञ्चार कम्पनी एनसेलको कार्यालयमा भएको विस्फोटमा संलग्न भएको आरोपमा कारबाही अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
उक्त घटनामा एकजना नागरिकको ज्यान गएकाले उनीहरूलाई कर्तव्य ज्यान मुद्दा समेत लगाइने बताइएको छ।
चन्दा उठाउनेलाई जबरजस्ती असुली र कतिपयलाई भने राज्य विरूद्धको अपराधमा पनि कारबाही गरिने अधिकारीहरूले बताए।
चन्दको चेतावनी
आफ्नो पार्टीको गतिविधिप्रति सरकारले कडा नीति अपनाउन थालेपछि चन्दले उनकै शब्दमा त्यसको ‘प्रतिरोध’ गर्ने चेतावनी दिने गरेका छन्।
वली सहितका नेताहरू पक्राउपश्चात् उनले गत सोमवार एउटा वक्तव्य जारी गर्दै विभिन्न खाले विरोधका कार्यक्रमहरू समेत सार्वजनिक गरेका छन्।
उनले सार्वजनिक गरेका कार्यक्रममा नेपाल बन्द सहित कोणसभा, चोक जुलुस, मसाल जुलुस, सभा, अन्तरक्रियालगायत छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘चैत महिना भित्रै चन्द नेतृत्वको पार्टीलाई नियन्त्रण गरिसक्ने’ बताए लगत्तै आएको उक्त वक्तव्यमा चन्दले पनि चैत महिनाभित्र प्रतिबन्ध हटाउन चेतावनी दिएका छन्।
त्यसो नगरिए सरकारका कार्यक्रमहरूमा प्रतिबन्ध लगाउने र आम हड्ताल गर्ने वक्तव्यमा उल्लेख छ।
उक्त पार्टीले सार्वजनिक गरेका विरोधका कार्यक्रमलाई हुन नदिने सरकारी अधिकारीहरू बताउँछन्।
प्रहरी प्रवक्ता सुवेदी भन्छन्, ‘प्रतिबन्ध लागिसकेको अवस्थामा त्यो समूहले गर्ने सबैखाले गतिविधि संगठित अपराध अन्तर्गत पर्छन्। त्यसैले कुनै पनि विरोधका कार्यक्रम भए हामी कानुन अनुसार पक्राउ गरेर कारबाही गर्छौँ।’
वार्ताको आग्रह
सरकारले चन्द नेतृत्वको पार्टीका गतिविधिमा प्रतिबन्ध लगाएर धमाधम उसका कार्यकर्ताहरू पक्राउ गरिरहेका बेला नेपाल बार एसोसिएसनले भने राजनीतिक समस्याको समाधान राजनीतिक रूपबाट खोज्न आग्रह गरेको छ।
बारका महासचिव खम्मबहादुर खातीले मङ्गलबार विज्ञप्ती जारी गर्दै त्यस्तो आग्रह गरेका हुन्।
उसले संविधान अनुसार कुनै पनि राजनीतिक दललाई प्रतिबन्ध लगाउन समेत नमिल्ने जनाएको छ।
विज्ञप्तीमा भनिएको छ, नेपाल सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई लगाएको प्रतिबन्ध नेपालको संविधान २०७२ को धारा २७० बमोजिम राजनीतिक दललाई प्रतिबन्ध लगाउन नपाउने स्पष्ट संवैधानिक व्यवस्थाको प्रतिकूल हुने गरि भए, गरेको मन्त्रिपरिषद्को निर्णय गैर संवैधानिक रहेको नेपाल बार एसोसिएसनको ठहर छ।
बारले सरकारलाई प्रतिबन्ध हटाएर वार्ताको वातावरण बनाउन र चन्द नेतृत्वको पार्टीलाई घोषित नेपाल बन्दको कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ।
यसैगरी बुधवार राष्ट्रिय मानव अधिकार आयोगले पनि विज्ञप्ति जारी गर्दै चन्द नेतृत्वको नेकपालाई उसले घोषणा गरेको नेपाल बन्दको कार्यक्रम फिर्ता लिन र वार्ताबाटै समस्या समाधान गर्न आग्रह गर्दै उक्त पार्टीलाई ‘चन्दा, विस्फोट, हत्या, हिंसायुक्त काम नगर्न’ आग्रह गरेको छ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राष्टिय प्रजातन्त्र पार्टी, मधेशवादी दलहरु, विवेकशील साझा,नेकपा माले,बैद्य नेतृत्वको नेकपा माओवादी, सहितका राजनीतिक दलहरुले पनि एक दशकभन्दा लामो सशस्त्र द्धन्द्धलाई शान्तिपूर्वक अवतरण गराएको नेपालको मौलिक अनुभवबाट पाठ सिक्दै चन्द नेतृत्वको नेकपासंग वार्ताका माध्यमबाट उनीहरुलाई राजनीतिको मूलधारमा ल्याउन माग गरेका छन् । यसै क्रममा पुनर्गठित माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले पनि विप्लव नेकपासँग वार्तागर्न सरकारलाई आग्रह गरेको छ ।
बीबीसी नेपालको सहयोगमा






















