गनी अन्सारी/बीबीसी नेपाली सेवा
काठमाडौं,२६ चैत्र(बीबीसी) । हालै काठमाण्डूमा करिब साढे तीन सयको सङ्ख्यामा कागहरू मर्नुका कारण बर्ड फ्लु नै भएको पुष्टि भएपछि सो रोगलाई लिएर कतिपयमा चिन्ता देखिन्छ।
घरपालुवा चरा नभए पनि मानव बस्तीमा कागको आउजाउ भएकोले मान्छेमा चिन्ता हुनु स्वाभाविक भएको चिकित्सकहरू बताउँछन्।
हुन त नेपालमा घरपालुवा हाँस, कुखुरा लगायत पशुपक्षीमा बर्ड फ्लु समयसमयमा नदेखिएको होइन, तर गैरघरपालुवा पशुपक्षीमा त्यस्तो सङ्क्रमण विरलै देखिने पशु सेवा विभागका अधिकारीहरू बताउँछन्।
पशुपक्षी रोग अन्वेषण तथा नियन्त्रण महाशाखाका अनुसार पछिल्लो समय काठमाण्डूको तारकेश्वर नगरपालिका र टोखा नगरपालिकामा बर्ड फ्लुको सङ्क्रमण देखिएका कुखुरा र कुखुराका दाना नष्ट गरिएको छ।
बर्ड फ्लु : कारण
त्यसबाहेक ललितपुरको गोदावरी नगरपालिका-१२ र भक्तपुरको सूर्यविनायक नगरपालिका-१२ मा सङ्क्रमण देखिएका कुखुरा र कुखुराका दाना नष्ट गरिएको विभागकी उपमहानिर्देशक डा. सम्झनाकुमारी काफ्लेले बताइन्।
महाशाखाका अनुसार त्यसअघि बर्ड फ्लुको सङ्क्रमण देखिएका हेटौडा, मोरङ, सुनसरी र कास्कीका केही स्थानमा निःसङ्क्रमण कार्य गरिएको थियो।
काग मरेको घटना के हो?
करिब दुई हप्ताअघि काठमाण्डूस्थित ब्रिटिश दूतावास र नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमा भटाभट कागहरू मर्न थाले।
घटनापछि दूतावासका अधिकारी र नारायणहिटी दरबार सङ्ग्रहालयका कर्मचारीले पशु सेवा विभागमा खबर गरे।
हालसालै केहि दिन यता, काठमाण्डौ वरीपरी काग (कौवा)मा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) देखिएको छ । मरेका यी पंक्षी सकेसम्म नछुनुस्, र आफ्ना घरपालुवा जनावर (जस्तै कुकुर) लाईपनि यीबाट टाढै राख्नुस् । छुनै परे एन-९५ मास्क र सर्जिलक पंजा लगाएर तुरुन्तै गाडिदिनुस् । बाटोमा नफाल्नुस् ।
— Sameer Mani (A) Dixit, PhD🇳🇵 (@smadixit) April 7, 2019
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका वरिष्ठ पशु विकास अधिकृत डा. नारायण श्रेष्ठका अनुसार तारकेश्वर र टोखा नगरपालिकाका केही वडामा निःसङ्क्रमणको काम भइरहँदा त्यो घटना भएको थियो।
उनले भने, “ब्रिटिश दूतावासमा दुई सयवटा र नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमा डेढ सयको सङ्ख्यामा काग मरेको पाइयो।”
घटनापछि मरेका कागको नमुना सङ्कलन गरी प्रयोगशालामा परीक्षण गर्दा त्यसको कारण बर्ड फ्लु नै भएको पुष्टि भएको पशु सेवा विभागकी उपमहानिर्देशक डा. काफ्लेले बताइन्।
बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएपछि ती स्थान र वरपरका क्षेत्रमा चुना र भिर्कोन छरी निःसङ्क्रमण गरिसकिएको पशुपक्षी रोग अन्वेषण तथा नियन्त्रण महाशाखाले जनाएको छ।
कागमा किन देखिएको होला?
चिकित्सकहरूका अनुसार परेवा वा भँगेराजस्ता चरामा बर्ड फ्लुको सङ्क्रमण नभई कागमा देखिँदा मान्छेमा त्यसबारे जिज्ञासा हुनु पनि स्वाभाविक हो।
अरू चराका तुलनामा कागमा बर्ड फ्लुको भाइरस हुनुका दुई-तीनवटा सम्भावित कारण हुन सक्ने चिकित्सकहरू बताउँछन्।
विभागकी उपमहानिर्देशक डा. काफ्ले भन्छिन्, “एउटा कारण कागले मासु खाने भएर पनि हो। बर्ड फ्लु लागेको कुखुराको मासु खाएपछि काग पनि सङ्क्रमित हुन पुग्छन्।”
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका वरिष्ठ पशु विकास अधिकृत डा. श्रेष्ठ काग मरेको पछिल्लो घटनालाई त्यससँगै जोडेर हेर्छन्।
उनले भने, “कुखुरापालक कृषकले शुरूमा बर्ड फ्लुका कारण मरेका कुखुरा तारकेश्वर वा टोखा क्षेत्रमा फालेपछि त्यो खाएका कागहरूमा बर्ड फ्लु लागेको हुन सक्छ।”
काग नि मरे भनेसी बर्ड फ्लू कडै आयो काठ्मान्डौमा । मैले चिनेजानेको सबलाइ भन्दिसकें नखानु भनेर — कागका परिकारहरु !!
— सोम् 𝕏 (@KTMite) April 7, 2019
नेपाल भेटनरी काउन्सिलका सदस्य डा. शिशिर भण्डारीका अनुसार मानव बस्तीमा कागको आउजाउ हुने भएकोले बर्ड फ्लु देखिएको क्षेत्रमा गएपछि तिनीहरू पनि सङ्क्रमित हुन सक्छन्।
त्यसबाहेक बसाइँसराइ गर्ने पशुपक्षीको सम्पर्कमा आउँदा पनि कागमा बर्ड फ्लु लाग्ने एउटा कारण हुन सक्ने उनी बताउँछन्।
के कागमा बर्ड फ्लु देखिनु झन् चिन्ताको विषय हो?
चिकित्सकहरू भन्छन्, चिन्ता त जुनसुकै पशुपक्षीमा बर्ड फ्लु देखिँदा हुन सक्छ।
तर घरपालुवा पशुपक्षीजस्तो कागलाई निगरानी गर्न नसकिने भएकोले झन् सचेत चाहिँ हुनुपर्छ।
डा. भण्डारी भन्छन्, “कागहरू मानव बस्तीमा समेत आउजाउ गर्ने भएकोले र सङ्क्रमित कागको सम्पर्कमा घरपालुवा पशुपक्षी आउँदा तिनीहरूमा पनि सङ्क्रमण हुन सक्ने भएकोले सजग चाहिँ हुनैपर्छ।”
त्यसो भएको हुँदा पोल्ट्री फर्म सञ्चालकहरूले घरपालुवा पशुपक्षीलाई कागजस्ता बाहिरिया चराचुरुङ्गीबाट जोगाउनेतर्फ ध्यानदिनुपर्ने उनी बताउँछन्।
सङ्क्रमित मान्छेमा कस्ता लक्षण देखिन्छन्?
चिकित्सकहरूका अनुसार मानिसलाई अरू फ्लु लाग्दा देखिने लक्षणजस्तै यसका लक्षण पनि हुन्छन्।
- सङ्क्रमण भएपछि खोकी लाग्छ, ज्वरो आउँछ
- टाउको दुख्छ, चिसो लाग्छ
- हाछ्युँ आउँछ
- मांसपेशीमा पीडा हुन्छ
- नाकबाट पानी बग्छ वा नाक थुनिन्छ
- लक्षणहरू अचानक पनि देखिन सक्छन्।
सामान्यतया भाइरसको सम्पर्कमा आएको तीनदेखि पाँच दिनमा देखिने चिकित्सकहरू बताउँछन्।
कसरी बच्न सकिन्छ?
खासगरी पशुपक्षी र पशुपक्षीजन्य उत्पादन तथा तिनको ओसारपसार लगायतका काममा संलग्न हुनेहरूले विशेष ध्यान दिनुपर्ने चिकित्सकहरू बताउँछन्।
तर त्यसको अर्थ मासु, अण्डा एवम् पशुपक्षीजन्य उत्पादन उपभोग गर्नेहरूले ख्याल गर्नुपर्दैन भन्ने होइन।
चिकित्सकहरूका अनुसार निम्न कुरामा मानिसहरूले ध्यान दिनुपर्छः
- पोल्टी फर्ममा काम गर्नेले जैविक सुरक्षामा ध्यान दिनुपर्छ
- खोरमा काम गर्दा आवश्यक मास्क, पन्जा तथा बुट लगाउनुपर्छ
- काम सकेर निस्किने बेला राम्ररी सरसफाइ गरेर मात्रै जानुपर्छ
- चल्ला र दाना खरिदकर्ताले विक्री गर्ने स्वास्थ्य प्रमाणित गराए वा नगराएको हेर्नुपर्छ
- व्यवसायीले दाना लगायतका सामग्री सँगसँगै कुखुराको ओसारपसार गर्नु हुँदैन
- बर्ड फ्लू नदेखिएका ठाउँबाट मात्रै पशुपक्षी तथा तिनका उत्पादन आयात गर्नुपर्छ
- फर्ममा कुखुरा वा चल्ला मर्न थालेमा सम्बन्धित निकायलाई तत्काल खबर गर्नुपर्छ
- मरेका कुखुरा चलाउँदा विशेष ध्यान दिनुपर्छ, राम्रोसँग तिनको व्यवस्थापन गर्नुपर्छ
- फर्ममा बर्ड फ्लु देखिएमा काम गर्नेले स्वास्थ्य परीक्षण गराउनुपर्छ
- सङ्क्रमित कुखुराको मासु बजारमा आउन नदिनेतर्फ ध्यान दिनुपर्छ
- काँचो मासु चलाउने व्यक्तिले पनि ध्यान दिनुपर्छ, कहाँबाट मासु ल्याइएको हो भन्ने कुरा थाहा पाए झन् जाती हुन्छ
- कुखुराको मासु राम्ररी पकाएर खानुपर्छ, ७० डिग्री सेल्सियसमा मासु पकाउँदा भाइरस मर्ने भएकोले आत्तिनु पर्दैन
यी कुरामा ध्यान दिन सक्ने बर्ड फ्लुको सङ्क्रमणबाट जोगिन सक्ने चिकित्सकहरू बताउँछन्।