याड.गुन(म्यानमार),२६ चैत्र । भर्खरै साफ च्याम्पियन बनेको भारतीय महिला फुटबल टोली एएफसी महिला ओलम्पिक छनौट २०२० को तेस्रो चरण पुग्न असफल भएको छ ।
दोस्रो चरणतर्फको आफ्नो अन्तिम खेलमा म्यानमारसंग अंक तालिकामा बराबरीमा रहे पनि खेलमा गरेको गोल संख्याको आधारमा म्यानमारलाई तेस्रो चरणको ढोका खोल्दै ऊ प्रतियोगिताबाट बाहिरिएको हो ।
मंगलबार भएको निर्णायक खेलमा भारतले घरेलु टोली म्यानमारसँग ३–३ गोलको रोमाञ्चक बराबरी खेलेको थियो ।
भारतले आफ्नो पहिलो खेलमा इण्डोनेसियालाई २–० ले तथा नेपाललाई ३–१ ले हराएको थियो भने म्यानमारले नेपाललाई ३–१ ले तथा इण्डोनेसियालाई ६–० ले पराजित गरेको थियो ।
मंगलबारको नतिजासँगै ३ खेलबाट ७ अंक जोडेको म्यानमार शिर्ष स्थानमा रहदै तेस्रो चरणका लागि छनौट भएको छ । समान ७ अंक भएता पनि भारत दोस्रो स्थानमा छ । त्यस्तै ३ अंक जोडेको नेपाल तेस्रो स्थानमा रह्यो ।
अंकबिहिन इण्डोनेसियाले पुछारमा रहँदै प्रतियोगिताको समापन गरेको छ ।